शिव पलाँसको ‘गीति सङ्ग्रह’ बजारमा

मंसिर २१, काठमाडौं – माया गर्नुको अर्थ, आगो भन्ने जान्दाजान्दै, गन्दै जाँदा पिरतीमाजस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको ‘गीति सङ्ग्रह’ बजारमा आएको छ ।

‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज गीतकार, समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलङ्कार, बिम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको उल्लेख गरे ।

कृतिमा विभिन्न सर्वकालिक गीतको भाव रहेको बताउँदै उहाँले पलाँस महत्वपूर्ण गीतकारका रूपमा स्थापित भएका छन् । उनका गीतमा प्रेम, मिलन, विछोड, देशभक्ति, समाजको चित्रण त छँदै छ, विसङ्गत जीवनदृष्टिसमेत आएको पाइन्छ । साहित्यकार डा ऋषि बस्ताकोटीले पलाँसका गीत पढ्दा नै गीत भएको महसुस गराउने, लय र अन्तध्र्वनि समाहित भएको उल्लेख गर्दै पलाँसका कतिपय गीत दिमाग खल्बल्याउने र मुटु झस्काउने खालका भएको टिप्पणी गरे ।

अर्का साहित्यकार रमेश पौडेलले आफूले पहिला माया गर्नुको अर्थ गीतलाई चिनेको र पछिमात्र गीतकारसँग परिचित भएको सुनाए । गीतकार हरिहर तिमिल्सिनाले पलाँसका गीत फरक खालका भएको तर्क गर्दै गीतहरू सुन्ने खालका होइनन्, हेर्ने खालका पनि होइनन्, यी त महसुस गर्ने खालका हुनु पर्दछ ।

कार्यक्रममा नम्रता गुरागाईँ, डा चिरञ्जीवी भट्टराई, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ ‘सरू’, लक्ष्मी थापा, विमल गौतमलगायतले गीतकार पलाँसका रोज्जा गीत सुनाएका थिए । कृतिमा ती गीतसहित ८१ गीत समावेश छन् । आवरण प्रकाशनबाट निस्किएको कृति वितरण पाल्पा बुक्स काठमाडौँले गरेको छ ।