व्यापारमा नेपालको परनिर्भरता

–टुल राज बस्याल—

काठमाडौ- केन्द्रिय तथ्यांक विभागद्वारा २०७७ वैशाखमा प्रकाशित राष्ट्रीय लेखा तथ्यांक अनुसार आ. ब. २०५७/५८ देखि आ. ब. २०७६/७७ सम्म १९ वर्षको अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जी.डी.पी.) को वार्षिक औसत वृद्धि दर ४.२ प्रतिशत रहेको छ जसमध्य कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धि दर क्रमश: ३.२ प्रतिशत, ३.५ प्रतिशत र ४.९ प्रतिशत रहेको छ । उद्योग अन्तर्गत खानी तथा उत्पादन उद्योगको वार्षिक औसत वृद्धि दर २.१ प्रतिशत मात्र र विद्युत तथा निर्माणको वृद्धि दर ४.८ प्रतिशत रहेको छ ।

जी.डी.पी. को अनुपातमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश आ. ब. २०५७/५८ मा क्रमश: ३६.६ प्रतिशत, १७.३ प्रतिशत र ४६.१ प्रतिशत रहेकोमा आ. ब. २०७६/७७ मा क्रमश: २७.६ प्रतिशत, १४.३ प्रतिशत र ५८.१ प्रतिशत रहेको छ । यसरी, १९ वर्षको अवधिमा जी.डी.पी. मा कृषि र उद्योगको अंश क्रमश: ९.० प्रतिशतविन्दु र ३.० प्रतिशतविन्दुले घट्न पुगेको छ भने त्यसै अनुरुप सेवा क्षेत्रको अंश १२.० प्रतिशतविन्दुले वढ्न गएको छ । सोही अनुसार जी.डी.पी. मा कृषि, उद्योग र सेवा क्षेत्रको अंशको वार्षिक औसत संकुचन दर कृषि र उद्योग तर्फ क्रमश: १.५ प्रतिशत र १.० प्रतिशत रहेको छ भने सेवा क्षेत्रको विस्तार दर वार्षिक औसत १.२ प्रतिशत रहेको छ ।

अन्तराष्ट्रिय व्यापारको सन्दर्भमा वस्तुहरुलाई व्यापार-योग्य (tradable) र व्यापार-अयोग्य (non-tradable) गरी दुई समूहमा वांड्ने गरिन्छ । राष्ट्रीय लेखा तथ्यांकका क्षेत्रहरुमध्य सामान्यतया कृषि, खानी र उत्पादन उद्योगलाई व्यापार-योग्य र वांकी क्षेत्रहरु (ऊर्जा, निर्माण र सेवा) लाई व्यापार-अयोग्य भनि वर्गिकरण गरिएको पाइन्छ । नेपालको समग्र जी. डी. पी. मा व्यापार-योग्य उत्पादनको अंश आ. ब. २०५७/५८ मा ४६.० प्रतिशत (कृषि ३६.६ प्रतिशत र खानी तथा उत्पादन उद्योग ९.४ प्रतिशत) रहेकोमा आ. ब. २०७६/७७ मा उक्त अंश १३.३ प्रतिशतविन्दुले घटी ३२.७ प्रतिशत (कृषि २७.६ प्रतिशत र खानी तथा उत्पादन उद्योग ५.१ प्रतिशत) मा सिमित भई यस्तो अंश १९ वर्षको अवधिमा वार्षिक औसत १.८ प्रतिशतले घट्न गएको छ । यस अवधिमा व्यापार-योग्य उत्पादन मध्य कृषि/ जी.डी.पी. अनुपात वार्षिक औसत १.५ प्रतिशतले र खानी तथा उत्पादन उद्योग/ जी.डी.पी. अनुपात वार्षिक औसत ३.२ प्रतिशतले घटेको छ । अर्कोतर्फ,  व्यापार-अयोग्य उत्पादन/ जी.डी.पी.को अनुपात आ. ब. २०५७/५८ मा ५४.० प्रतिशत रहेकोमा आ. ब. २०७६/७७ मा ६७.३ प्रतिशत पुगी वार्षिक औसत १.२ प्रतिशतले वृद्धि भएको छ । उत्पादनको वार्षिक औसत वृद्धि दर तर्फ १९ वर्षको यस अवधिमा व्यापार-योग्य उत्पादन र व्यापार-अयोग्य उत्पादन क्रमश: २.९ प्रतिशत र ४.९ प्रतिशतले वढेको छ ।

यसरी, नेपालमा व्यापार-योग्य उत्पादन र व्यापार-अयोग्य उत्पादन दुबैको वृद्धि दर कम रहेता पनि व्यापार-अयोग्य उत्पादनको तुलनामा व्यापार-योग्य उत्पादनको वृद्धि दर झन् कम रहेको कारण वस्तु व्यापार सन्तुलनमा निरन्तर ठूलो प्रतिकूल अवस्था कायम भएको फलस्वरुप व्यापार-योग्य उत्पादनमा परनिर्भरता अत्यधिक वढेको छ । मुख्यरुपमा स्वदेशी उत्पादनले प्रोत्साहन नपाउनु र विदेशी उपभोगका वस्तुले  स्वदेशी वस्तुलाई विस्थापित गर्ने वातावरण कायम रहंदासम्म देशको कृषि र उत्पादन क्षेत्र सधै उपेक्षित रहन जान्छ । लगानियोग्य र अत्यावश्यक पूंजीगत वस्तुहरु आयात गर्दा अर्थतन्त्रको उत्पादनशील क्षमता वढ्ने भएतापनि देशको कृषि र उद्योग नै धराशायी पारेर गरिने आयातित उपभोगजन्य वस्तुहरुले देशको दिर्घकालिन रुपमा उत्पादन्, उत्पादनशिलता, रोजगारी, राजस्व, आयआर्जन र गार्हस्थ वचतमा प्रतिकूल असर पर्ने निश्चित छ । त्यसैले, तत्काललाई केही  महँगो पर्ने भए पनि दैनिक  उपभोगजन्य वस्तुहरु  सकभर देशभित्रै उत्पादन हुने बातावरण सुनिश्चित भएमा आन्तरिक प्रतिष्पर्द्धाको कारण दिर्घकालमा वस्तुहरु तुलानात्मकरुपले सस्तो पर्न जान्छ । सवभन्दा महत्वपूर्ण कुरा, यस्तो वातावरणले अत्यधिक परनिर्भरता विस्तारै कम गर्न सहजता प्राप्त हुन्छ र समग्र राष्ट्रको जीवनमा नाकावन्दी जस्ता वाह्य जोखिमबाट पर्ने प्रभाव न्यूनीकरण गर्न समेत सघाउ पुर्‍याउंछ ।  साथै, अर्थतन्त्रमा समृद्धिको चक्र कृयाशिल हुन जान्छ ।

हाम्रा व्यापार-योग्य वस्तुहरुलाई अन्तर-राष्टृय बजारमा प्रतिष्पर्धी बनाउन उपयुक्त नीतिगत तथा अन्य सहयोगको माध्यमवाट सरकारले धेरै ठूलो योगदान दिन सक्छ र दिनु पर्छ । हाम्रा वस्तुहरु प्रतिष्पर्धी हुनु भनेको निर्यात मात्र वढ्ने नभई प्रतिष्पर्धी रुपमा आयात प्रतिस्थापन गर्न समेत आवश्यक योगदान मिल्ने हुन्छ । व्यापार सन्तुलन, विकास र समृद्धिको मार्ग सहज छैन, कठीन छ जसको सम्बोधनको लागि सुझबुझ र समन्वयात्मक ढंगले राष्ट्र्का सामु रहेका आर्थिक प्रश्न हल गर्नु पर्ने जिम्मेवारी हाम्रा सामु रहेकोछ ।  यसरी, नीतिगत र अन्य सहयोगी कदमहरु मार्फत सरकारले हाम्रो वढ्दो व्यापार घाटालाई नियन्त्रण गर्दै अर्थतन्त्रमा समृद्धिको चक्र (virtuous cycle) को वलियो जग बसाल्नु आजको आवश्यकता रहेको छ ।

(लेखक नेपाल राष्ट्र बैङ्क, आर्थिक अनुसन्धान विभागका पूर्व प्रमुख तथा नेपाल सरकार, अर्थ मन्त्रालयका पूर्व वरिष्ठ आर्थिक सल्लाहकार हुनुहुन्छ ।)