सचिवालय बैठक बोलाउन ओलीसमक्ष शीर्ष नेताहरुको लिखित आग्रह

कात्तिक २२, काठमाडौं  -सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन लिखित आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलिमै बैठक बोलाउन लिखित माग गरेको उनले बताए ।

यस्तै स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडि बढ्न नसकेको अवस्थाको समीक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उनले बताए ।

कार्यकारी अध्यक्ष दाहालले पटक पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज लिखित अनुरोध गरिएको श्रेष्ठको भनाइ छ । बैठक बस्ने बारेमा भने ओलीले आज निष्कर्ष नदिएको उनले बताए ।