लकडाउनको सदुपयोग, बढ्यो कौसी खेती

भदौं २४, काठमाडौं  – कोरोना रोकथामका लागी लकडाउन, निशेधाज्ञा लागु भएसंगै मानिसहरु घरमै बस्न बाध्य  भए । घरमा दिन बिताउनका लागि घरको छतमा कुना–काप्चामा होस् वा कतै खाली ठाउँमा तरकारी लगाउने थाले । लकडाउन लागु भएसंगै भक्तपुर बालकोट निवासी कुमारी अर्यालले  कौशीमा तरकारी र फलफूल लगाइन् ।

उनले ठाउँ अनुसार भाँडामा बिरुवाहरू रोपीन् । ठूलो ठाउँमा गमलामा रोपिन् भने सानो ठाउँमा पानीका बोत्तल वा दहीका भाँडा प्रयोग गरिन् । लकडाउनमा समयम बिताउनका लागि उनले कौशी खेती शुरु गरेकी हुन् । अहिले उनको कौशीमा बिभिन्न तरकारीहरु फलेका छन् ।

यसरी तरकारी फलाउँदा विषादीरहित खान पाइने उनले बताइन् । उनलाई अर्को रमाइलो लाग्ने पक्ष भनेको घरको फोहोर व्यवस्थापन हो । भान्साबाट निस्कने फोहोरले नै उनलाई तरकारी फलाउन मलको काम गरेको छ । इमेल खवरसंग कुरा गर्दै उनी भन्छिन् ‘आफैले तरकारी रोप्दा विषादीरहित एवं गुणस्तर हुने रहेछ’।

कौसी खेती घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेती हो । बढ्दो सहरीकरणका कारण कृषि क्षेत्र विस्थापित हुँदै गएको अवस्था छ । कृषि योग्य जमिनको कमीले पनि घरको छतदेखि खाली ठाउँमा आवश्यकतानुसार खेती गर्ने चलन बढ्दै गएको छ । लकडाउनका कारण घरमै बस्ने बाध्यताका कारण पनि कौशी खेतीको क्रेज बढ्दै गएको छ ।

कौसी खेतीमा प्रविधिको विकाससँगै आधुनिक तरिकाले खेती गर्न थालिएको छ । सानो ठाउँमा आफ्नो आवश्यकतानुसार यो खेती गर्न सकिन्छ । व्यस्त समय त्यसमाथि पनि बाहिरको तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएकाले अर्गानिक तरकारी खाने रुचिले आफ्नै घरमा खेती गर्ने चलन दिनहुँ बढ्दै गएको छ।

अनामनगरकी पार्वती रोक्काले पनि लकडाउन पश्चात घरको छतदेखि बरन्डासम्म धनियाँ, टमाटर, खुर्सानी एवं कागतीहरू फलाएकी छिन् । छिमेकीले बारीभरि तरकारी फलाएको देखेर उनले घरमै फलाउन थालेकी हुन् । उनले भनिन्–‘छिमेकीले बारीमा तरकारी फलाए तर मेरो बारी छैन । त्यसैले घरमै तरकारी फलाउन थालें ।’ अहिले उनले धेरै थरीका तरिकारी र फलफूल घरमै उत्पादन गर्ने गरेकी छिन्। कौशी खेतीले उनलाई समय बिताउन सहज भएको छ ।

कौसीमा रोपेको तरकारीले उनलाई खान त पुग्दैन तर केही मात्रामा राहत भने मिलेको छ । बजारबाट ल्याइने तरकारी र कौसी खेतीमा उत्पादन हुने तरकारीको स्वाद निकै फरक हुने उनले अनुभव सुनाइन् । अहिले उनलाई अर्गानिक र विषादीरहित तरकारी खान कौसी खेती नै उत्तम लाग्छ ।

लकडाउनले कौशी खेती बढायो – मदनकुमार राई, कृषि विशेषज्ञ

अहिले मानिसहरूमा स्वास्थ्य चेतना बढ्दै गएको छ । अर्को कुरा लकडाउन र निशेधमाज्ञाका कारण पनि मानिसहरुको कौशी खेतीमा आकर्षण बढेको हो । घरमा बस्न बाध्य ब्यत्तिहरुले समयको सदुपयोेग गर्दै कौशी खेतीमा रमाइरहेका छन् । बजारका तरकारीहरू अर्गानिक हुँदैनन् । अत्यधिक मात्रामा विषादी मिसाइएको हुन्छ । अर्गानिक र ताजा तरकारीका लागि अहिले घरमै खेती गर्ने चलन बढ्दै गएको हो ।
कौसी खेतीका बारेमा मानिसहरू त्यति जानकार भएको पाइँदैन । यसले आफूलाई फाइदा पु¥याउँछ भन्ने चेतना मानिसहरूमा अझै आएको छैन । यसरी खेती गर्दा घर जंगलजस्तो देखिन्छ भन्नेहरू पनि छन् भने गर्नेहरूले पनि आवश्यक प्रक्रिया पु¥याएर गरेका छैनन् । अरूले गरेको देखेर गर्नेहरूको संख्या बढेको छ । यो खेतीका बारेमा जानकारी दिन सरकारी तहबाटै अभियान चलाउनु आवश्यक छ । यसको जानकारी हरेक घर–घरमा पु¥याउनुपर्छ ।

कौसी खेतीमा के–के उत्पादन गर्ने
कौसी खेतीमा ठाउँअनुसार तरकारी र फलफूल उत्पादन गर्न सकिन्छ । यस्तो खेतीमा काँक्रा, फर्सी, लौका, घिरौंला आदि लहरे खेती गर्न सकिन्छ । गमला र अन्य भाँडाहरूको प्रयोग गरी टमाटर, बन्दा, काउली, खुर्सानी आदि तरकारी उत्पादन गर्न सकिन्छ । होंचो बोट हुने कागती–सुन्तला आदि फलफूलहरू पनि लगाउन सकिन्छ ।

कौसी खेतीमा प्रयोग हुने भाँडाहरू
घरको बरन्डा र थोरै खाली ठाउँमा खेती गरिने भएकाले घरायसी सामानहरू प्रयोग गर्न सकिन्छ । यो खेतीका लागि सिमेन्टका बोरा, फुटेका बाल्टिन, गमला, हेल्मेटदेखि अण्डाको खोल, पानीका जारदेखि पानीका बोत्तलहरूसम्म प्रयोग गर्न सकिन्छ । साथमा कार्टुन, तेलका प्लास्टिकहरू पनि प्रयोग गर्न सकिन्छ ।

कौसी खेतीका फाइदाहरू

– कौसी खेतीको राम्रो फाइदा भनेको फोहोर व्यवस्थापन गर्नु हो । भान्साबाट निस्कने फोहोरलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।

-दैनिक रूपमा उपभोग्य तरकारी र फलफूल किनमेलमा पैसाका साथै समयको पनि बचत हुन्छ ।

-घरमा भएका बिग्रिएका सामानहरूको सदुपयोग ।

– तरकारी र फलफूल ताजा एवं अर्गानिक हुने ।

– सानो ठाउँमा इच्छानुसारका तरकारी फलाउन सकिने ।

– यो खेतीमा भाँडा माझेको र लुगा धोएको पानी प्रयोग गर्न सकिन्छ ।

कौसी खेती गर्दा ध्यान दिनुपर्ने कुरा

-मल कस्तो प्रयोग गर्ने र कसरी जुटाउने भन्ने कुराको विशेष ज्ञान हुनुपर्छ ।

– बोटबिरुवाका लागि पानी आवश्यक हुन्छ । पानी बढी र कम भए बिरुवा मर्न सक्छन् । त्यसकारण पानीको मात्रा मिलाउन सक्नुपर्छ ।

-सकेसम्म सिजनको तरकारी रोप्ने प्रयास गर्नुपर्छ ।

– तरकारी र फलफूल लगाइसकेपछि उचित रूपमा हेरचाह र व्यवस्थापन गर्नुपर्छ ।