जमैका सेमिफाइनलबाटै बाहिरियो

भदौ २४, काठमाडौ – अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । नाइट राइडर्स सीपीएलको उपाधिको हकदार टोली हो । उसले जमैकासितको खेलमा पनि त्यही कुरालाई सिद्ध गर्यो । समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो तर जमैकासितको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो गर्यो ।

टस जितेपछि नाइट राइडर्सले फिल्डिङ रोज्यो । जमैकाले खाता नै खोल्न नपाउँदै विकेट गुमाउन पुग्यो । जेर्मिन ब्ल्याकउडलाई नाइट राइडर्सका अकिल हुसैनले बोल्ड गर्नुभयो । जमैकाले दुई रन जोड्दा उसका भरपर्दा खेलाडी ग्लेन फिलिप्सलाई खेइरे पियरेले अलि खानद्वारा क्याच आउट गराउनुभयो । जमैकाको विकेट पतनको क्रम यतिमै रोकिएन । टोलीको स्कोर १० रन छँदा उसले तेस्रो विकेट गुमायो । मुजिबउर रहमान रन नै नबनाई पवेलियन फर्किनुभयो । उहाँलाई अकिल हुसैनले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराउनुभयो । जमैकाले पाँचौँ ओभरमा चौथो विकेट गुमायो । नाइट राइसर्डका अकिल हुसैनले नै व्यक्तिगत दोस्रो विकेट लिँदै आसिफ अलीलाई चार रनमै केरोन पोलार्डको हातबाट क्याच आउट गराए ।

जमैकाका लागि नक्रुम बोनरले पारी सम्हाल्ने प्रयास गरे । उहाँले ४२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४१ रनको योगदान दिए । जमैकाको स्कोर ६३ रन छँदा उनी आउट भए । लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पवेलियन फर्किए। उनले पाँच बल खेल्दै मात्र दुई रन बनाए । रसेललाई सुनिल नराइनेले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए । त्यसपछि केही बेर जमैकाको पारी कप्तान रोभमन पावेलले सम्हाले । उनले एक छक्का र एक चौकाको मद्दतमा ३५ बलमा ३३ रन बनाए । उनलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पवेलियन फर्काए । जमैकाले सात विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो ।

बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवाद अहमदले एक एक विकेट लिए ।

एक सय आठ रनको झिनो स्कोर पछ्याउने क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेले । जमैकाका बलरहरू नाइट राइसर्डका खेलाडीका अगाडि निरिह सावित भए । सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लिए । उलले सुनिल नराइनेको विकेट लिए। योसँगै रहमान प्रतियोगितामा सर्वाधिक १८ विकेट लिने खेलाडी बन्नुभएको छ ।रासस