यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने सांसदहरुको माग

असार १८, काठमाडौं – बिहीबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपीट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नीजि र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने र अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टि गर्नु पर्ने बताएका हुन् । सांसद रामनारायण विडारीले यातायात क्षेत्रमा नेपालीहरुको खर्बौँ लगानी भए पनि यसलाई हेर्ने छुट्टै मन्त्रालय नभएको बताए ।

यात्रुबाहक, मालबाहक लगायत विभिन्न प्रकारका यातायातका साधन सञ्चालनमा रहे पनि यसका लागि छुट्टै नीति नभएको उनले बताए । नीजिले पनि सार्वजनिक भाडाको काम गरिरहेको उल्लेख गर्दै उनले यातायात व्यवसायीहरुलाई १० प्रतिशत पुनर्कर्जा र ढृुवानीमा भ्याट छुट दिएर टिडिएस मात्रै लाग्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

सांसद विमला राई पौडेलले अति विशिष्ट व्यक्तिहरुका लागि राम्रो सुरक्षा प्रवन्ध गर्ने चलन रहे पनि पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् । अहिलेको संकटको समयमा अति विशिष्ट व्यक्ति भनेका स्वास्थ्यकर्मी भए पनि उनीहरुमाथि आक्रमण भइरहेको बताए । स्वास्थ्यकर्मी नै सुरक्षित नभए आम नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै उनले ध्यानाकर्षण गराए ।

सांसद शान्ति कुमारी अधिकारीले असारे विकासले विनास निम्त्याएको बताइन् । जेठ १५ मा बजेट सार्वजनिक भएर असारमा पास हुने भए पनि पुसमा मात्रै सम्झौता गर्न सुरु हुने परम्परा तोड्नु पर्ने बताइन् । साउन र भदौ महिनामा कर्मचारीहरु पालैपालो विदामा बस्ने हुँदा काममा ढिलाई भइरहेको उनले बताइन् । सम्बन्धित मन्त्रालयहरुले अख्तियारी चाँडो दिएर कार्तिक भित्र काम सुरु गरी जेठ मसान्तमा काम सक्नुपर्ने नीति बनाउन जरुरी रहेको उनले बताइन् ।

सांसद शेरबहादुर कुँवरले अस्तव्यस्त क्वारेन्टानका कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । संलकन भएका स्वाबको पीसीआर परीक्षणका लागि महिनौँ दिनसम्म कुर्नु पर्ने अवस्थाले समुदायस्तरमा कोरोना फैलिने डर भएको उनले बताए ।