भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा

वैशाख २८, काठमाडौ – भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभाव भएर दश दिन अघि देखि परिक्षण वन्द भएको  थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो ।

कीटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा नहुदा यहाँको नमूना हेटौँडा र काठमाडौँ पठाइँदै आएको थियो । अहिलेको किटले एक हजार ३०० भन्दा बढीको नमूना परीक्षण गर्न सकिने छ ।

एकैपटक यति धेरै किट पठाएको यो पहिलोपटक हो । गत चैत २४ गतेबाट परीक्षण शुरू गरेको प्रयोगशालाका लागि शुरूमा जम्मा ३८४ थान किट पठाएको थियो । त्यसपछि बीचमा १०० थान किट पठाए पनि दुई दिनमै सकिएपछि प्रयोगशाला बन्द भएको थियो ।