रोल्पामा मृतक बालबालिकाका परिवारलाई राहत दिन संघीय सरकारलाई सिफारिश गरिने

बैशाख १९, काठमाडौं – प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने पनि बताए । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कँदै गर्दा विस्फोटमा परी पाँच वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरेका छन् ।

यसैबीच बम विस्फोटको घटनाबारे जानकारी लिन र मृतक बालबालिकाका परिवारलाई समवेदना दिन प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी घटनास्थल पुगेका छन् ।