सोसल मिडियामा पुराना फोटाहरुको रहस्य

प्रसान्त कुमार वि.क.

काठमाडौ -नयाँ दिल्ली स्थित नेपाल वायुसेवा निगमको कार्यालयमा कार्यरत मेरा साथी राजेन्द्र बहादुर शाहीले केहि दिन यता अरुले जस्तै आफ्ना पुराना फोटाहरु फेसबुकका भित्तामा पोस्ट्याउदै आएका छन् । एउटा स्टाटसमा “ओल्ड इज गोल्ड” भनेर आफ्नी उनी (पुष्पा शाही) लाई अंगालोमा मायाले बाँधेको बल्याक एण्ड ह्वाइट फोटो छ भने अर्कोमा “भौतिक दूरीमा टाढा तर मनको दूरीले सबै भन्दा नजिक” भन्दै कोल्याज गरि राखीएको फोटो छ । अनि, जसको पुछारमा अंग्रेजी अक्षरमा “स्टे सेफ” भनेर लेखिएको छ । कोरोनाको कहरका बीच धेरै मानिसहरु आफ्ना घर परिवारसँग बसिरहेका बेला उनी भने करिब पाँचसय माइल टाढा नयाँ दिल्लीमा बसेका छन् । यहाँ जस्तै त्यहाँ पनि लकडाउन छ । यस्तो बेलामा आफूले सबै भन्दा नजिक ठानेको मान्छेबाट टाढा हुनु सबै भन्दा पिडादायक कुरा हो । त्यसैले त्यो पिडालाई एकछिन भए पनि भुलाउन वा भनौ अभिव्यक्त गर्न फेसबुकको साहरा लिएका छन उनले । भनिन्छ, जीवनमा सबै कुरा गुमाउने अवस्थामा आफूलाई राख्नु हुदैन् । गुमाउनै नसकिने वस्तुको खोजी गर्नु पर्दछ, त्यो हो प्रेम । सायद, सोसल मिडियामा पुराना फोटोहरु राख्नुको एउटा रहस्य यो पनि हुन सक्छ ।

देशमा लागू भएको लकडाउन सँगै सोसल मिडियामा यस्तै खाले पुराना फोटाहरु पोस्ट्याउने लहर शुरु भएको छ । वा भनौ मानिसहरु नोस्टाल्जीक भएका छन् । आफु जन्मे, हुर्केको ठाउँ, साथी भाईहरु याद आईरहेको छ । अझ, संकटको घडिमा अक्सर यस्तो हुनु स्वभाविक हो । पहिचानको संकट रहेको विश्वमा, अहिले हामी हाम्रो ‘रुट’ तर्फ फर्कदै छौ । कुनै बेला फ्रेन्च दार्शनिक रुसोले ‘ब्याक टु नेचर’ भनेको कुरा अहिले वास्तविक अर्थमा लागू हुदैछ सायद । कोरोना भाइरसको डरका कारण मानिसहरु घरभित्र बस्न विवश छन । परिणामस्वरुप, कुनै बेला मानिसहरुको उपस्थितीले नदेखिएका कछुवाहरु लाखौको संख्यामा समुन्द्री तटमा हिडिरहेको कुरा विविसीले देखाएको थियो । अब उपरान्त कुनै समुद्रीं चराले आहारा ठानेर आफ्नो बचेरालाई चुरोटको ठुटो खुवाउने छैन । ठूला शहरहरुमा लाइट पोलुसनले गर्दा तारा नदेखिने आकाशमा अहिले ताराहरु देखिन थालेका छन् । सदगुरु भन्छन् यदि केहि प्रजातीका जीवहरु संसारबाट लोप भएमा, मानसिको अस्तित्वनै समाप्त हुन्छ । तर मानिस नभएमा अरु जीवलाई केही फरक पर्देन बरु उनीहरु आरामसँग बाँच्न पाउँछन् ।

कुनै समय घरमा आएका पाहुनालाई पानी सँगै फोटोको एलबम थमाइन्थ्यो । विवाह, दशै, तिहारका सादा अनि रंगिन फोटाहरुमा आफ्ना नातेदारहरुलाई चिनाइन्थ्यो । कसै कसैको मा ढोकैमा सबैले देखिने गरी फोटो झुण्डाईएको पनि हुन्थ्यो । मानीसहरुसँग फूर्सद हुन्थयो । सुख, दुःख, खानपीन, सञ्चो विसञ्चो आदि सोध्ने गर्दथे । गाउँमा त अझ खाना खाए पछि दिउँस एक न्याप लिईन्थ्यो । तर, त्यो सबै संसारको दौडमा कतै छुटेको थियो । कोरोनाले फेरी याद दिलाएको छ । त्यसो त मानिस कहिले आफ्नो अतितबाट मुक्त हुन सक्दैन । फोटाहरुमा त्यही अतित लुकेको हुन्छ । फोटो हेर्दा कहिले भावुक त कहिले हाँसो उठछ । कुनै फोटाहरुमा लौ त मलाई चिन म कहाँ छु भनेर सोध्ने गरिन्छ । जीवनको उत्तारर्धमा स्मृतिहरु धुमिल हुँदै जाँदा फोटो एउटा साहरा बन्दछ । फोटो आफैले दर्पणको काम गर्दछ । फोटो इतिहास पनि हो । इतिहासका पानाहरुमा जो शक्ति शाली छन् तीनका मात्र फोटो हुने गर्दथे । ती फोटोहरुलाई फूलमाला लगाइन्थ्यो । जयजयकार गरिन्थ्यो । तर समय परिवर्तन भएको छ । जो कोही पनि सजिलै आफ्नो फोटो फेसबुकमा राख्न सक्छ । आफ्नो उपस्थिती जनाउन सक्छ । विचारहरुलाई अभिव्यक्त गर्ने माध्यमा वा प्रविधि फरक भए पनि विषय उहीछ–आफ्नो पहिचान ।