महासंकटको समयमा निगमको साथ

 

प्रसान्त कुमार वि.क.

एकादेशको कथा
अक्सर मानीसहरु नेपाल वायुसेवा निगमको कुरा गर्दा थाई एयरलाइन्स सँग तुलना गर्ने गर्दछन । उनीहरु भन्छन् ल हेर्नुस त, आरएनएसी र थाई एयरलाईन्स सँगै शुरु भएका हुन, थाई एयरलाइन्स कहाँबाट कहाँ पुगी सक्यो । एउटा टेलिभिजन अन्र्तवार्तामा स्वामी आन्नद अरुणले पनि यहि कुरा भनेका छन् । एकपटक नेपालगञ्ज एयरपोर्टको भिआइपी कक्षमा कलाकार राजेश हमालले पनि मलाई यस्तै भनेका थिए । काठमाण्डौमा भएको हिमालय कन्सेन्सस कार्यक्रममा भेट हुँदा सँयूक्त राष्ट्र संघका पूर्व उप–महासचिव कुलचन्द« गौतमले पनि मलाई यहि कुरा भनेको सम्झन्छु । उत्तर दिनुको साटो मले प्रति प्रश्न गरेको थिए, देशको कुन चाहि सँस्था सबल र सक्षम छ त ? देशको झण्डा बोकेर आकाशमा उडने विमानलाई यसो भन्दा कता–कता नरामाईलो लाग्दछ । तर, उनीहरुको चिन्ता, रिस, सहानुभूति सबै स्वभाविक जस्तो पनि लाग्छ । किनभने उनीहरुले राष्ट्रको ध्वजा बाहकलाई धेरै माया गर्ने भएकोले आलोचना गर्ने अधिकार पनि राख्द्छन । कुनै समय अझ अग्रजहरु नेपाल राष्ट्र बैंकको जागिर छोडेर मानिसहरु निगममा आउने गरेको कुरा सुनाउँदा एकादेशको कथा जस्तो लाग्दछ । त्यो सयम निगमको एक क्षत्र राज चलथ्यो । अहिलेको जस्तो निजी क्षेत्रका विमान कम्पनीहरु पनि थिएनन् ।

अझै निगमकै भरोसा
मानिसको जीवनमा झै सँस्थाको जीवनमा पनि उतार चढाव हुँदो रहेछ । थुप्रै आरोप प्रत्यारोप खेपेको छ यसले । यसका बाबजुद पनि यो देशको गौरव हो । मानिसहरु अझै पनि निगमलाई विश्वास गर्दछन । दुर्गम क्षेत्रका जनताका लागि त यो वरदान नै सावित भएको छ । जहाँ निजी क्षेत्रका विमानहरु जादैनन् त्यहाँ निगमको विमान पुग्छ । किनभने यसको ध्ये नाफा कमाउनु भन्दा पनि जनतलाई सर्वसुलभ ढंगले सेवा पुर्याउनु हो । अझ दशै तिहारको समयमा जब निजी क्षेत्रका विमानहरु डलर कमाउन लुक्ला तीर हुईकिन्छन्, त्यती बेला गरिब, बालबालिका, वृद्व र महिलाको सेवामा समर्पीत हुने गरेको छ निगमको विमान । संकटको समयमा निजी क्षेत्रका विमान कम्पनीहरुले टिकट वितरणलाई सहज गराउनुको सट्टा बढी रकम असुल्ने गरेको पाईएको छ । एक साता अगाडी मात्र कोरोना भाइरसको डरका कारण मानिसहरु काठमाण्डौ बाट आफ्ना गनतव्य तर्फ जाँदा निर्धारण गरिएको भाडाले निराश तुल्याउछ । जुन दिन निगमको जहाज कुनै कारणले रद्द हुन्छ, त्यो दिन म्याक्सीमम् भाडा निर्धारण गरिएको हुन्छ । यसबाट पनि सहजै अनुमान गर्न सकिन्छ कि निगमले भाडा दर निर्धारण तथा कायम गर्न कति धेरै भूमिका खेलेको छ भन्ने कुरा ।

निगमले अफगानिस्तानको राजधानी काबुलमा आतंककारीबाट मारिएका चौध नेपाली कामदारहरुको मृतशरिरलाई देशमा ल्याउँदाको दुःखको क्षण होस वा चाइनाको हुवे प्रान्त जहाँबाट कोरोना भाइरसको प्रकोप शुरु भएको मानिन्छ त्यहाँबाट एकसय पचहत्तर विद्यार्थीहरुलाई उद्वार गरि नेपाल ल्याउँदाको खुसीको क्षण होस दुवै समयसमा आँखाहरु रसाएका थिए । यस्ता घटनाक्रमहरुको फेहरिस्त लामो छ । अझ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको राजकिय भ्रमण, सम्मेलनमा ध्वजाबाहक जहाज उडेको सुन्दा खुसिको सीमा नै हुदैन । त्यसैले, मानिसहरु अझै पनि निगमको सेवामा भरोसा गर्दछन् ।

अन्तराष्ट्र्रिय परिवेश
केही वर्ष यता संसारै भरि उड्डयन क्षेत्रमा एक प्रकारको संकट देखिएको छ । आर्थिक संकटका कारण भारतको जेटएयरवेजले आफ्ना सम्पूर्ण उडान सेवाहरु बन्द गरेको छ । त्यसैगरी, सन् १९३२ मा शुरु भएको एयर इन्डियालाई बन्द गर्नुपर्ने या निजीकरण गरिनुपर्ने विषयमा छलफल भईरहेको छ । इण्डोनेशियन र मलेशियन एयरलाइन्स मर्ज भएर मालिण्डो एयरका रुपमा उडिरहेको छ । लुफ्थान्सा जस्ता युरोपका प्रशिद्व एयरलाइन्सहरु स्टार एलाइन्स र कतारको कतार एयरवेज वनओर्लड एलाइन्स अन्तर्गत रहेको हुँदा अस्तित्वमा रहेका छन् । यस अवस्थामा निगमले स्वदेशी मात्र होइन विदेशी हवाई कम्पनीहरु सँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । त्यसका बाबजुद पनि त्रिभुवन अन्तराषर््िट्रय विमानस्थल बाट सबै भन्दा बढी यात्रुहरु ओसार्नेमा नेपाल वायुसेवा निगम पर्दछ । कोरोना भाइरसका कारण अब आउने दिनहरुमा पनि एयरलाइन्सहरुको भविष्य अनिश्चित देखिन्छ । रिकभर हुन समय लाग्ने र राज्य स्तरबाटै ठूलो मात्रामा लगानी हुनुपर्ने देखिन्छ ।

महासंकटमा निगमको दायित्व
अहिले विश्वभरी कोरोना भाइरसको आतंक छ । सोसल मिडिया लगाएत सञ्चारका सबै माध्यमहरुमा यसकै चर्चा छ । आर्थिक तथा प्राविधिक दुबैरुपमा समक्षम राष्ट्रहरु अमेरिका, चीन, जर्मनी, फ्रान्स, बेलायत, इटाली, स्पेन र हाम्रै दक्षिणको छिमेकी भारत सबैलाई कोरोना भाइरसले घुडा टेकाउँदै छ । तीव्रगतिमा गुडिरहेको बुलेट ट्रेन जस्तो विश्वमा एक्कासी ब्रेक लागेको छ । विज्ञहरु विश्व आर्थिक महामन्दीको अनुमान लगाउदै छन् । नेपाल पनि यसको चपेटामा परेको छ । नेपाल जस्तो विकासोन्मुख देशले कसरी यसको सामना गर्दछ भन्ने प्रश्न उब्जीएको छ । समस्यालाई सम्बोधन गर्नका लागि पर्याप्त भौतिक संरचना, गुणस्तरीय प्रविधि, दक्ष जनशक्ति र स्वास्थ्य सम्बन्धि सामग्रीहरुको अभाव व्याप्त रहेको छ । अहिले कोरोना भाइरसको संक्रमण रोक्नका लागि देश लकडाउन गर्नुको विकल्प पनि छैन । यस्तो विषम परिस्थिीतिमा सरकारले निगमको जहाजलाई जनताको हीत तथा उद्वारमा ल्याएको छ । तसर्थ, सबै जनताको सहयोग र सदभावको खाँचो आवश्यक छ । सधै गाली मात्र गर्ने होइन, महासंकटको बेला सबै मिलेर काम गर्नुको विकल्प छैन । निगमको संरचनात्मक सुधार अहिलेको आवश्यक्ता हो । यो तपाई हाम्रो सबैको एयरलाइन्स हो । सबैले माया गरौं । निगमको त्यो एकादेशको कथा फेरी नयाँ पुस्तालाई सुनाउन योग्य बनाउनु हाम्रो दायित्व हो ।

लेखक -नेपाल वायुसेवा निगम क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक हुन । यो उनको निजी विचार हो ।