शहर बजारमा लोकप्रिय कौसी खेती

काठमाडौं, ९ माघ । कौसी खेती भनेको घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेती हो । बढ्दो सहरीकरणका कारण कृषि क्षेत्र विस्थापित हुँदै गएको अवस्था छ । कृषि योग्य जमिनको कमीले पनि घरको छतदेखि खाली ठाउँमा आवश्यकतानुसार खेती गर्ने चलन बढ्दै गएको छ । कौसी खेतीमा प्रविधिको विकाससँगै आधुनिक तरिकाले खेती गर्न थालिएको छ ।

सानो ठाउँमा आफ्नो आवश्यकतानुसार यो खेती गर्न सकिन्छ । व्यस्त समय त्यसमाथि पनि बाहिरको तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएकाले अर्गानिक तरकारी खाने रुचिले आफ्नै घरमा खेती गर्ने चलन दिनहुँ बढ्दै गएको पाइन्छ ।

घरको छतमा होस्, कुना–काप्चामा होस् वा कतै खाली शहर बजारका मानिसहरुले तरकारी र फलफूल लगाएको पाईन्छ ् । यहाँका मानिसले ठाउँअनुसार भाँडामा बिरुवाहरू रोप्ने गरेकी छिन् । ठूलो ठाउँमा गमलामा रोपिएको पाईन्छ भने सानो ठाउँमा पानीका बोत्तल वा दहीका भाँडा प्रयोग गरिन्छन ।

कौसी खेतीमा के–के उत्पादन गर्ने
-कौसी खेतीमा ठाउँअनुसार तरकारी र फलफूल उत्पादन गर्न सकिन्छ । यस्तो खेतीमा काँक्रा, फर्सी, लौका, घिरौंला आदि लहरे खेती गर्न सकिन्छ । गमला र अन्य भाँडाहरूको प्रयोग गरी टमाटर, बन्दा, काउली, खुर्सानी आदि तरकारी उत्पादन गर्न सकिन्छ । होंचो बोट हुने कागती–सुन्तला आदि फलफूलहरू पनि लगाउन सकिन्छ ।

कौसी खेतीमा प्रयोग हुने भाँडाहरू
घरको बरन्डा र थोरै खाली ठाउँमा खेती गरिने भएकाले घरायसी सामानहरू प्रयोग गर्न सकिन्छ । यो खेतीका लागि सिमेन्टका बोरा, फुटेका बाल्टिन, गमला, हेल्मेटदेखि अण्डाको खोल, पानीका जारदेखि पानीका बोत्तलहरूसम्म प्रयोग गर्न सकिन्छ । साथमा कार्टुन, तेलका प्लास्टिकहरू पनि प्रयोग गर्न सकिन्छ ।

कौसी खेतीका फाइदाहरू
–  कौसी खेतीको राम्रो फाइदा भनेको फोहोर व्यवस्थापन गर्नु हो । भान्साबाट निस्कने फोहोरलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
–  दैनिक रूपमा उपभोग्य तरकारी र फलफूल किनमेलमा पैसाका साथै समयको पनि बचत हुन्छ ।
–  घरमा भएका बिग्रिएका सामानहरूको सदुपयोग ।
–  तरकारी र फलफूल ताजा एवं अर्गानिक हुने ।
– सानो ठाउँमा इच्छानुसारका तरकारी फलाउन सकिने ।
– यो खेतीमा भाँडा माझेको र लुगा धोएको पानी प्रयोग गर्न सकिन्छ ।

कौसी खेती गर्दा ध्यान दिनुपर्ने कुरा
– मल कस्तो प्रयोग गर्ने र कसरी जुटाउने भन्ने कुराको विशेष ज्ञान हुनुपर्छ ।
– बोटबिरुवाका लागि पानी आवश्यक हुन्छ । पानी बढी र कम भए बिरुवा मर्न सक्छन् । त्यसकारण पानीको मात्रा मिलाउन सक्नुपर्छ ।
–  सकेसम्म सिजनको तरकारी रोप्ने प्रयास गर्नुपर्छ ।
– तरकारी र फलफूल लगाइसकेपछि उचित रूपमा हेरचाह र व्यवस्थापन गर्नुपर्छ ।