खुम्चँदै महिला तथा बालबालिका विभाग

मंसिर १९, काठमाडौं – स्थानीयस्तरमा महिलाका संरक्षण र सशक्तीकरणको जिम्मेवारी स्थानीय तहको भएसँगै महिला तथा बालबालिका विभाग खुम्चिँदै गएको छ । विभागको भवन र जनशक्ति दुबै खुम्चन थालेको हो ।

अहिले विभागमा कर्मचारीको सङ्ख्या न्यून रहेको विभागका निर्देशक अनिता अधिकारीले बताएकी छन् । विभागमा अहिले दरबन्दी नै कम रहेको र दरबन्दी भन्दा अझै कम जनशक्ति कार्यरत रहेका छन् । विभागमा अहिले १६ जना मात्रै कार्यरत छन् ।

विभागमा १९ जनाको दरबन्दी रहेकामा त्योभन्दा तीन जना कम कार्यरत छन् । गत वर्षसम्म ५४ जनाको दरबन्दी रहेकामा अहिले कम भएको उनले बताइन् ।

जिल्लास्तरीय कार्यालयले त्यहाँका सहकारी र महिला समूहमार्फत महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरे पनि अहिले त्यो अलपत्र अवस्थामा रहेको छ । उनले भनिन् ,“कुनै स्थानीय तह सक्षम भए पनि कुनै स्थानीय तह सक्षम भइनसकेको हामीले पाएका छौँ ।”

विभागको भवनमा अहिले राष्ट्रिय बालकल्याण परिषद्समेत रहेको छ । विभागको अनुगमनका लागि गत साता हरिहर भवन पुग्नुभएका महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले विभागलाई खारेज हुन नदिने बताएका थिए ।