कात्तिक २५, काठमाडौं –यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ ।
यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका लागि आवेदन परेको सङ्ख्या हो ।
पहिले साना क्षमताका प्रिन्टरले छपाइ गर्दा छाप्न बाँकी कार्डको सङ्ख्या धेरै भएको विभागले जनाएको छ ।
‘मास प्रिन्टर’ पूर्ण क्षमतामा काम गर्दा केही महिनामा नै सकिने विभागका महानिर्देशक गोगनबहादूर हमालले बताएका छन् ।
सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ शुरु गरेसँगै नै समस्या आएको थियो । एकातिर भएका उपकरण देशभरका अनुमतिपत्र छाप्नका लागि पर्याप्त नभएको र भएका उपकरणमा समेत समस्या आउँदा छाप्न बाँकी कार्डको सङ्ख्या बढिरहेको थियो । सरकारले ‘मास प्रिन्टर’ दुई महिना पहिले ल्याएको थियो । अहिले जडान सकिएर परीक्षणसमेत भइसकेको छ ।
