असार ५ , इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाएका छन् ।
“अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उहाँको निधन भएको बताइए पनि अधिकारीहरूले उहाँलाई बचाउन सकेनन्,” इस्तानबुलमा बुधबार एक वक्तव्यमा उनले भने ।
उनले भने, “मोर्सीको हत्या भएको हो, उहाँको प्राकृतिक निधन भएको होइन ।” उनले मोर्सीको मृत्युका बारेमा थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।
यसअघि मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले मोर्सीको निधनबारे निष्पक्ष छानबिनको माग गरेको थियो ।
हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उनको निधन भएको हुनसक्ने एमनेस्टीको आशङ्का छ । त्यसैगरी मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ ।
राज्यद्वारा सञ्चालित टेलिभिजनले स्रोतहरूलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटुसम्बन्धी समस्याका कारण निधन भएको जनाएको छ ।
इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वा्चित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको घोषणा गरिएको थियो ।
कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरूले जनाएका छन् ।
“अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो, तर अस्पतालले उहाँको निधन भइसकेको घोषणा गर्यो” न्यायाधिवक्ताको कार्यालयले भनेको छ ।
“उहाँलाई स्थानीय समयानुसार अपराह्न ४.५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उहाँको निधन भइसकेको थियो, शरीरमा घाउचोट देखिएको छैन,” अस्पताल स्रोतले भन्यो ।
उनका कारण अदालती कारवाहीमा बाधा नपुगोस भनेर उनलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो ।
उनी सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वा्चित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उनलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो ।
जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शङ्कास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उनी अदालत उपस्थित भएका थिए । उनलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो । तर उनका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउँदै आएका छन् ।
एएफपी