तत्काल एनसेलबाट कर नउठाउन सर्वोच्चको आदेश

बैशाख १३, काठमाडौं – सर्वोच्च अदालतले तत्काल एनसेलबाट लाभकर नउठाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । छलफलको लागि दुवै पक्षलाई बैशाख २४ गते बोलाएको छ ।

सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय यथास्थानमा राख्न आदेश दिएको हो । यसअघि सर्वोच्चले नै लाभकर असुल गर्न सरकारका नाममा आदेश दिएको थियो ।

सर्वोच्चको यो आदेशपछि एनसेल लाभकर विवाद अझै केही समय लम्बिने देखिएको छ। ठूला करदाता कार्यालयले निर्धारण गरेपछि उक्त निर्णयविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालत मुद्दा दायर गरेको थियो ।