३५ किलोको ट्युमर निकालियो

असार, २४ काठमाडौं— त्रिवि शिक्षण अस्पतालमा एक महिलाको पेटबाट ३५ किलोग्रामको गाँठो (ट्युमर) शल्यक्रियाका माध्यमले झिकिएको छ । अस्पतालको दाबीअनुसार पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको यति ठूलो ट्युमरको मुलुकमा यो पहिलो सफल शल्यक्रिया हो ।

‘मुलुकमा पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको ३५ किलोग्रामको ट्युमरको यो पहिलो सफल शल्यक्रिया हो,’ अस्पतालका स्त्री तथा प्रसूति रोग विभागकी प्रा.डा.आश्मा राणाले भनिन् ।

शल्यक्रिया गर्नुअघि गाँठोलाई विभिन्न अंगबाट छुट्याउन उचाल्नु पर्दा डाक्टरहरूलाई हम्मे परेको थियो । ‘अस्पतालमा भएका विभिन्न विभागका चिकित्सकको सामूहिक परामर्श, सहकार्य र संलग्नताले यो जटिल शल्यक्रिया सफल भएको हो,’ डा.राणाले शल्यक्रिया हुँदा विभिन्न अंगबाट छुट्याउने क्रममा उक्त गाँठोलाई चार जना डाक्टरले मिलेर उचाल्नुपरेको बताइन् ।

६ वर्षदेखि पेट फुल्ने, दिसापिसाब गर्न गाह्रो हुने समस्याबाट पीडित ती महिलाको एक वर्षयता पेट धेरै फुल्न थालेको थियो । करिब ६ महिनादेखि उनलाई हिँड्डुल, खानपान जस्ता दैनिक क्रियाकलाप गर्नसमेत गाह्रो भएपछि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

डा. राणाको नेतृत्वमा उक्त विभागकी प्रमुख प्रा.डा.गीता गुरुङ, डा.सुभाना मास्के, जीआई सर्जरी विभागका डा. विकल घिमिरे, प्लास्टिक सर्जरी विभागका डा.कृष्ण मानन्धर र एनेस्थेसिया विभागका प्रमुख डा.अनिल श्रेष्ठ र डा.अमित भट्टराईलगायत २४ जना चिकित्सकको संलग्नतामा ६ घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

महिलाको पेटमा पाठेघरको मांसपेशीको सामान्य गाँठो रहेको प्रयोगशाला परीक्षणमा देखिएको छ । यो गाँठो पाठेघर छेउछाउको तन्तुबाट पलाएर ३५ किलोग्राम तौलको पुगेको थियो ।
शल्यक्रियाभन्दा पहिले करिब ७१ किलोग्राम तौल भएकी ती महिला हाल करिब ३६ किलोग्रामकी छन् । शल्यक्रिया भएको १६ औं दिन शुक्रबार बिरामी पूर्ण स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
साभार — कान्तिपर