एक बर्षमा १९ जना बेपत्ता

असार १०। त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता भएका छन्। नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलो मिटरको सडक त्रिशूली नदीको किनारैकिनार पर्दछ ।
यो सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु तथा बेपत्ता हुने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा यो खण्डमा २७ वटा ठूला दुर्घटना भएका छन् । जसमा ४४ जनाले ज्यान गुमाएका छन् –भने १९ जना बेपत्ता भएका छन् । ९१ जना घाइते भएका छन् ।
नदीले एकै आर्थिक वर्षमा १९ जनालाई बेपत्ता बनाएको हो । विगतका वर्षमा यो तथ्याङ्क निकै कम देखिन्छ । गत आर्थिक वर्षमा सोही क्षेत्रमा तीनवटा मात्र दुर्घटना भएका थिए ।