४० औँ प्रधानमन्त्रीः शेरबहादुर देउवा

जेठ २३, काठमाडौँ । देशले ४० औँ प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई पाएको छ ।
नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई आज बसेको संसद बैठकले प्रधानमन्त्री निर्वा्चित गरेको हो । देउवाको शपथ ग्रहण भने भोलि राष्ट्रपति भवनमा हुँदैछ ।
प्रधानमन्त्री निर्वाचित गरियोस् भनी परेको एक मात्र उम्मेदवारीको प्रस्तावमा मतदान हुँदा देउवाको पक्षमा ३८८ मत र विपक्षमा १७० मत परेको थियो। मधेसकेन्द्रित दलहरु राजपा र संघीय समाजवादी फोरमसँग आजै भएको तीन बुँदे सहमतिपछि ती दलहरुले गरेको समर्थनका कारण देउवाको पक्षमा यति धेरै मत जुटेको हो।
गणतान्त्रिक नेपालमा पहिलो पटक प्रधानमन्त्री निर्वा्चित भएका देउवा यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन्।
समाजसेवी पिता श्रीप्रसाद देउवा र माता द्रौपदी देवी देउवाका जेठा छोरा शेरबहादुर देउवाको जन्म २००३ जेठ ३१ गते डडेल्धुराको असीग्राम गाविस–५ रुवाखोलामा भएको हो।
२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा समर्पित देउवा नेपाली कांग्रेसको भ्रातृसंगठन–नेपाल विद्यार्थी संघका संस्थापक सदस्य पनि हुन्।
२०२३ सालमा गठित तरुण–सभाको अध्यक्ष भएर पनि उनले काम गरेका थिए। २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म अविच्छिन्न रूपमा साढे आठ वर्षसम्म नेपाल विद्यार्थी संघको अध्यक्षका हैसियतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी फाँटको नेतृत्वदायी भूमिका निर्वाह गरे ।
पहिलोपटक २०४८ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका देउवाले २०४८ देखि २०५१ सालसम्म गृहमन्त्रीको पद सम्हाले। २०५२ देखि २०६१ सम्मको एक दशकको अवधिभित्र उनी तीनपटक मुलुकको प्रधानमन्त्री भए। दुई पटक राजा ज्ञानेन्द्रले उनलाई बर्खास्त गरे। एक पटक भने संसदमा विश्वासको मत लिन नसकेर उनी पदबाट बाहिरिनु र्पयो।
५५ वर्षभन्दा लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएर नेपाली कांग्रेसको राजनीतिमा समर्पित देउवा १३ औं महाधिवेशनबाट अत्यधिक मतले सभापति पदमा विजयी भएका हुन्।
जननिर्वाचित प्रधानमन्त्री देउवालाई २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरी शासनसत्ता आफ्नो हातमा मात्र लिएनन्, प्रतिशोधका आधारमा १० महिना नजरबन्दमा समेत राखेका थिए।
मुलुकमा प्रजातन्त्रको पुनर्स्थापनापछि भएका सबै आमनिर्वाचनमा विजय हासिल गरेका छन्। तीनवटा संसदीय निर्वाचनमा आफ्नो गृहजिल्ला डडेलधुराबाट र २०६४ मा डडेलधुरा र कञ्चनपुर–४ र २०७० मा डडेलधुरा र कैलाली–६ समेतबाट अत्याधिक मतले निर्वा्चित भई संविधानसभामा प्रतिनिधित्व गरे।
२०५३ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले बहुचर्चित र विवादास्पद बनेको टनकपुर सन्धिलाई प्रतिपक्ष एमालेको समेत सहयोगमा दुई तिहाइ बहुमतले पारित मात्र गराएनन्, नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको पानीमा दुवै देशको बराबर हक लाग्ने गरी सम्झौता गर्न सफल भए।
आफ्नै पार्टीका पूर्ववर्ती प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा टनकपुरबारे भारतसँग सहमति वा सम्झौता के हो भन्ने विषयमा सत्ता र प्रतिपक्षबीच ठूलो विवाद भएको थियो। टनकपुर–सम्झौतासँग जोडिएका अन्योल र विवादको अन्त्य गर्दै उनले यो विषयको समाधान गरेका थिए।