एमालेले बाढीपहिरो पीडितको परिवारलाई प्रति परिवार २५ हजार नगद सहयोग गर्ने

साउन १४, काठमाडौँ –  नेकपा एमालेले हालैको बाढीपहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई प्रति परिवार २५ हजार नगद सहयोग गर्ने भएको छ । एमाले पार्टी सचिवालयको आजको बैठकले पार्टीको “प्राकृतिक विपत्ति राहत कोष” बाट सो रकम उपलव्ध गराउने निर्णय गरेको हो । गृहमन्त्रालयको तथ्यांकअनुसार आजसम्म बाढी पहिरोबाट ७५ जनाको मृत्यु भइसकेको छ । मृतकको परिवारको सहयोगका लागि पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, सांसद तथा पार्टीको सिफारिसमा राजनीतिक नियुक्तिमा रहेकाहरुकाट जनही ५ हजार रुपैया सो कोषमा उठाउने निर्णय भएको एमाले सचिव योगेश भट्टराइले जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिबाट पिडित भएकाहरुको दुःखमा आफ्नो पार्टी सदैव साथ रहेको भन्दै एमालेले बाढी तथा पहिरोबाट घाइते भएकाको निःशुल्क उपचार र पीडितलाई राहत उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । साथै दशगजा सिमा क्षेत्रमा भारतबाट एकतर्फी ढंगले बनाइएका बाँध र सडक लगायत संरचनाका कारण नेपालतर्फको भू–भाग डुबानमा परेको भन्दै त्यसको दिगो समाधानका लागि प्रभावकारी कदम चाल्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।