‘ठूलो जात’ देखाउन अर्कैको नागरिकता

असार २, काठमाडौं – आफ्नो दलित थर लुकाउन एक व्यक्तिले अर्कै थरको नागरिकता बनाएका छन्। तुलसीपुर १० दमारगाउँका वीरलाल नेपालीले आफ्नै छिमेकी वीरवहादुर गुरुङको नामबाट नागरिकता बनाएपछि अहिले दुबैको नागरिकता विवादमा परेको छ।

उनले आफूले मात्रै थर फेरेनन्, श्रीमती तथा छोराछोरीलाई पनि गुरुङ थर लेखाएका छन्। उनले गुरुङ थरबाट राहदानी पनि बनाइसकेका छन्। जब सोही नागरिकताधारी वीरबहादुर गुरुङले इलाका प्रशासन कार्यालय तुलसीपुरमा राहदानीका लागि २०७२ साल असोजमा आवेदन दिन गए अनि प्रशासनले पहिला नै राहदानी बनिसकेको हुनाले त्यो हस्तलिखित राहदानी र नागरिकता प्रशासनमा ल्याउन भन्यो। त्यसपछि वीरबहादुर गुरुङ छाँगाबाट खसेजस्तै भए। त्यसअघि उनले राहदानी बनाएकै थिएनन्।

हाल तुलसीपुर १० डाँडागाउँ निवासी गुरुङले २०४५ जेठ ४ गते नागरिकता बनाएका थिए। त्यसको एक दिनअघिमात्रै पहिले सोही गाउँमा बस्ने र हाल तुलसीपुर ५ मा बस्दै आएका वीरलाल नेपालीले पनि नागरिकता प्राप्त गरेका थिए। दुवैको नाम प्रशासनको ढ्ड्डामा सँगसँगै थियो।

तर वीरलाल नेपालीले २०६२ साल भदौ ६ गते इलाका प्रशासन कार्यालय तुलसीपुरबाट वीरबहादुर गुरुङको नागरिकता प्रतिलिपी माग गरे। त्यतिमात्र होइन, त्यही नामबाट राहदानी पनि बनाइसकेका छन्।

सोधखोज गर्दै जाँदा छिमेकी वीरलाल नेपालीले आफ्नो नामको नागरिकता निकालेको थाहा भएपछि उनीहरुबीच बिबाद भयो।त्यसबेला बीरलाल नेपालीले आफूले थरु लुकाउन गुरुङको नामबाट नागरिकता निकालेको बीरबहादुर गुरुङलाई बताएका थिए।