वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौँ – गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा अहिले सामान्य सुधार आएको बताइएको छ ।

भेन्टिलेटरमा राखी उपचार भइरहेको उहाँको स्वास्थ्यस्थिति बिहान गम्भीर भएपछि केहीबेरअघिदेखि सुधार आएको पारिवारिक स्रोतले जनाएको छ । गुरुङसँग निकट भएर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहनुभएका सङ्गीत अभियन्ता रतन चन्दले उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै भन्नुभयो – “अहिले उहाँको पसिावसँगै मुटुको चाल पनि राम्रो भएको छ ।”

गुरुङ गएराति १ः३० बजे एक्कासि बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिएर राखिएको थियो ।

यसैबीच गुरुङको स्वास्थ्यलाभको कामना गर्दै शुक्रबार साँझ ग्रान्डी अस्पताल परिसरमा परिवार र शुभचिन्तकले दीप प्रज्वलन गरेका थिए । त्यस्तै देश बाहिर साउदी अरेबिया, बङ्गलादेश आदि ठाउँमा पनि उहाँको स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गरेको चन्दले जानकारी दिनुभयो ।

वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिनाअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा खाने नलीमा पलाएको ट्युमरको उपचार गरी नेपाल ल्याइएको थियो । गुरुङलाई मधुमेह र पार्किन्सनको पनि समस्या छ ।