संसदीय दलको नेतामा देउवा र पौडेल फेरि भिड्दै

चैत २२, काठमाडौं– एक महिनाअघि १३ औँ महाधिवेशनमा सभापतिमा भिडेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल संसदीय दलको नेताका लागि फेरि मैदानमा उत्रिँदै छन्।

पौडेल पक्षको आइतबारको भेलाले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। २४ चैतमा संसदीय दलको नेताको चुनाव हुँदैछ। त्यही दिन पार्टी संसदीय दलको बैठक पनि छ।

ुपार्टी एकताको सन्देश जाओस् भनेरै हामीले रामचन्द्रजीलाई दलको सर्वसम्मत उम्मेदवार बनाउन देउवाजीलाई भन्यौँ, तर उहाँहरूले नमानेपछि हामीले उम्मेदवार बनाएका छौँ,’ केन्द्रीय सदस्य एवं सांसद आनन्दप्रसाद ढुंगानाले भने।

पार्टीमा आफ्नो पक्षको पकड राख्न पनि पौडेलले दलको नेतामा उम्मेदवारी दिने भएका हुन्। सभापति देउवाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन्। कांग्रेसका दुई सय सात सांसदले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरी बहुमतका आधारमा दलको नेता चयन गर्नेछन्। कांग्रेसले टिकट नदिए पनि कपिलवस्तु– २ बाट स्वतन्त्र जितेका अतहर कमाल पनि कांग्रेस सांसद भएपछि संख्या २ सय ७ पुगेको हो।

शीर्ष नेतासहितका पदाधिकारीले टुंग्याए पौडेलको नाम

आइतबार बिहान पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंहसहितका नेताको बैठकले पौडेललाई उम्मेदवार बनाउने तय गरेको थियो। काठमाडौंको ढुंगेधारास्थित एक पार्टी प्यालेसमा भएको भेलामा बिहान नेताहरूबीच भएको सहमति सुनाइएको थियो। त्यसपछि पौडेललाई उम्मेदवारमा जिताउन सांसदहरूलाई अपिल गरिएको थियो। भेलामा केन्द्रीय सदस्य र सांसद गरी करिब ६० जना सहभागी थिए।

प्रकाशमानले राखे प्रस्ताव

दलको नेतामा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा। रामशरण महत पनि इच्छुक थिए। तर, आइतबारको भेलामा सिंहले पौडेललाई दलको नेतामा उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। ‘बिहान नेताहरूको बैठकपछि सांसदहरूबीच प्रकाशमान दाइले पौडेलजीलाई दलको नेताको उम्मेदवार बनाउने प्रस्ताव गर्नुभयो,’केन्द्रीय सदस्य एवं सांसद जीवन परियारले भने,‘उहाँहरूले निर्णय गरेर आएपछि हामीले समर्थन जनायौँ।’ सभापतिमा पनि उठेका पौडेललाई दलको नेतामा नउठ्न पार्टीमा सुझाब आएको थियो। तर, उनी आफैँ अघि बढ्न खोजेका हुन्।

दुई वर्षअघि १६ मतले हारेका थिए देउवा

दोस्रो संविधानसभा निर्वाचनपछि १२ चैत ०७० मा भएको संसदीय दलको निर्वाचनमा देउवा तत्कालीन सभापति सुशील कोइरालासँग १६ मतले पराजित भएका थिए। एक सय ९४ सांसदले मतदान गर्दा कोइरालाले १०५ र देउवाले ८९ मत ल्याएका थिए।( नयाँ पत्रिका दैनिकबाट)