ल्वाङगाउँमा ‘सिनेमा संवाद’

बैशाख २५, काठमाडौं – गण्डकी चौथो संस्करणको ‘सिनेमा संवाद’ आजदेखि कास्कीको पर्यटकीय गाउँ ल्वाङमा सुरु हुँदैछ । नेपाली चलचित्र क्षेत्रका विविध विषयमा सिर्जनात्मक बहससहित चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अनुभव आदानप्रदान हुने उक्त कार्यक्रमको तयारी पूरा भएको आयोजक चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले जनाएको छ ।

शनिबारसम्म चल्ने संवाद कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा बौद्धिक छलफल एवं विमर्श हुने सङ्घका अध्यक्ष सन्तोष बस्यालले बताउनुभयो । यसपालिको संस्करणमा ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द्व’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’लगायत विषयमा बहस हुने उनको भनाइ छ ।

‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा अभिनेत्री आचल शर्मा, अभिनेता सलोन बस्नेत र अभिनेत्री सनिशा भट्टराई वक्ताका रूपमा रहनुभएको छ । ‘सिनेमामा द्वन्द्व’ विषयमा अभिनेता निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डित वक्ताका रूपमा रहेका छन् ।

‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र अभिनेत्री बेनिशा हमाल वक्ताका रूपमा सहभागी हुने जनाइएको छ । ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहेका छन् ।

यस कार्यक्रमले माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङगाउँको पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्र क्षेत्रका विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा ‘सिनेमा संवाद’ आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *