चैत २ , काठमाडौ , डिभिजन वन कार्यालय अघाँखाचीले डढेलो नियन्त्रण र सम्भावित क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार १२ सदस्यीय वन डढेलो नियन्त्रण टोली गठन गरिएको छ। टोलीलाई आवश्यक उपकरण र मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ। टोलीलाई जेठ मसान्तसम्म जिल्लाभर परिचालन गरिनेछ।
वन डढेलोको जोखिम बढी हुने क्षेत्रमा टोली निगरानी र तत्काल नियन्त्रणका लागि खटाइनेछ। सार्वजनिक कार्यक्रममा वरिष्ठ वन अधिकृत, भू तथा जलाधार कार्यालयका प्रमुख, स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी र सामुदायिक वन समूहका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वन डढेलोको कारण, प्रभाव र रोकथामका उपायबारे छलफल भएको थियो।
डढेलो तथ्याङ्क सङ्कलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ डिजिटल प्रणाली पनि सञ्चालनमा आएको छ। जिल्लाभित्रका ६ वटै सव डिभिजन वन कार्यालयले घटना भएको २४ घण्टाभित्र अनलाइन प्रणालीमा जानकारी प्रविष्ट गर्ने व्यवस्था मिलाएको छ।
डढेलो रिपोर्टिङ प्रणालीमार्फत तथ्याङ्क समयमै सङ्कलन गर्न सकिने र आवश्यक निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ। वन क्षेत्रमा डढेलो देखिएमा स्थानीयवासीले जानकारी गराउन अनुरोध गरिएको छ।
