माघ १६, काठमाडौं – संखुवासभा जिल्ला नेपाली कांग्रेस प्रतिनिधिसभा उम्मेदवार दिपन कुमार श्रेष्ठले सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको बताएका छन् । ‘नेपाली कांग्रेस संखुवासभा–काठमाडौं सम्पर्क मञ्च’ले काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले आसन्न निर्वाचनमा कांग्रेसलाई हार्न छुट नभएको स्पष्ट पारे । उनले भने ‘ हामीलाई हार्न छुट छैन, जित्नैपर्ने अवस्था छ, कांग्रेस जिते मात्रै मुलुक जित्छ, लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई स्थापित र संस्थागत गर्न कांग्रेसको बहुमत आवश्यक छ ।’
श्रेष्ठले जिल्लाबासी मतदाताबीच जिल्लाको आर्थिक, शैक्षिक विकास, रोजगारी र सिँचाइ क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । जिल्लामा थुप्रै सम्भावना हुँदाहुँदै पनि बसाइँसराइको समस्या विकराल बन्दै गएको उल्लेख गर्दै त्यसका लागि ठोस नीति आवश्यक रहेको बताए । उनले भने ‘संखुवासभा जिल्ला अवसरको खानी भएको जिल्ला हो तर बसासराईले चुनौतीको देखिएको छ यसलाई उपयुक्त नीति निर्माण गरेर युवाहरुलाई रोजगारी सिर्जना गर्नु आवश्यक देखिएको छ । ’
उनले पछिल्लो समय नयाँ शक्तिप्रति अत्यधिक आकर्षण देखिए पनि पुराना दलमाथि अनावश्यक रूपमा आलोचना हुने प्रवृत्ति बढेको टिप्पणी गरे । भदौ २३ र २४ मा विकसित राजनीतिक परिस्थितिका कारण मुलुक कठिन अवस्थामा पुगेको भन्दै अझै पनि मतदाता शिक्षा कमजोर रहेकाले मतदातालाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ थियो ।
संखुवासभाका लागि कांग्रेस समानुपातिक उम्मेदवार थल कुमार लिंखाले कांग्रेसलाई कमजोर बनाउने तत्वहरूको विरुद्ध एकजुट भएर लड्नुपर्ने बताए । कांग्रेसलाई जिताए जिल्लाको मुहार फेरिने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काले नेपाली कांग्रेस एकजुट भएर निर्वाचनमा जानुपर्ने बताए । निर्वाचनको माहोल बन्दै गर्दा पार्टीभित्र केही मतभेद र तिक्तता देखिए पनि कांग्रेस चुनावमा दृढताका साथ लाग्न आवश्यक रहेको उनको भनाई थियो । उनले भने ‘जिल्लामा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सभापतिहरूले सही उम्मेदवार चयन गर्नुभएको छ,यसले जिल्लाको अनुहार पक्कै फेरिनेछ । ’ खड्काले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै देशलाई सही दिशामा डो¥याउने ऐतिहासिक जिम्मेवारी कांग्रेसकै रहेको दाबी गरे ।
कांग्रेस नेता उषा कार्कीले परिवर्तित परिस्थितिमा चुनाव हुन लागेको उल्लेख गर्दै पार्टीले नयाँ नेतृत्वमार्फत युवा पुस्तालाई अघि सारेको बताइन् । उनले भनिन् ‘ जिल्लाको अनुहार फेर्न पार्टीले युवा उम्मेदवार अघि सारेको छ, अब कांग्रेसलाई बहुमतका साथ जिताउनुपर्छ । ’
सम्पर्क मञ्चका सचिव भूपाल बस्नेतले लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न कांग्रेसलाई बहुमतका साथ जिताउन आवश्यक रहेको बताए ।
