बेनीमा आजदेखि ‘खाना महोत्सव

पुस ३०, म्याग्दी माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो ।

बेनीमा परम्परागत रूपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको संरक्षण, पुस्तान्तरण तथा कला, संस्कृतिको प्रवर्द्धन गर्ने, स्थानीय खाना, कला, मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिए ।

स्थानीय उद्यमी, कृषक र औद्योगिक उत्पादनका ५० वटा कक्ष .(स्टल) रहने महोत्सवमा खाना खाने, पेन्टिङ, लोक नृत्य, कृषि तथा पशुजन्य वस्तुको प्रदर्शनी, परम्परागत खेल, झाँकीको साथै कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।

महिला उद्यमीहरूबीच बच्चाको टोपी, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता आयोजना गरिएको छ । कृषि विकास कार्यालयले फलफूल, तरकारी, खाद्यबाली र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपंक्षी प्रर्दशनी गर्ने भएका छन् ।

महोत्सवमा स्थानीय उत्पादनको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुहुने जनाइएको छ । महोत्सव उद्घाटन अघि बेनीमा सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने तयारी भएको छ ।

महोत्सव सञ्चालनका लागि रु २१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ । कक्ष भाडा, प्रायोजक र सहयोगमार्फत आर्थिक सहयोग जुटाएर निःशुल्क महोत्सव अवलोकनको व्यवस्था मिलाइएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताए।

कक्ष निर्माणका साथै सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरेर सुरक्षाको तयारी पनि गरिएको जनाउँदै उनले मेलालाई म्याग्दीको साझा कार्यक्रम बनाइएको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घले हरेक तीन÷तीन वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष सञ्चालन गर्दै आएको छ ।

म्याग्दीमा बाहुल्य बसोबास रहेको मगर समुदायले माघे र साउने सङ्क्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायको सबैभन्दा ठूलो पर्व पनि माघेसङ्क्रान्ति हो ।

साउन सङ्क्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई वर्खा सुरु हुने दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको जिल्ला सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि नै माघेसङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *