मेचीनगरमा प्रथम भाक्का उत्सव

पुष २७, काठमाडौ – मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव मनाएका छन् । झापाको मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भाक्का बनाइएको हो ।

रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भाक्कालाई प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्यले भाक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताए । भाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भाक्का उत्सवले पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताए । उनले २५ भन्दा बढी जातजाति रहेको नगरमा राजवंशी समुदायको उलेख्य बसोबास रहेको जानकारी दिए ।

नगरका १५ वटै वटाबाट ३० जना जातीय पोसाक र गरगहनामा सजिएका राजवंशी समुदायका महिलाले भाक्काका परिवारका बनाएका छन् । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भाक्का खाने पुरानो चलन हो । धानको पीठोबाट बनाइएको भाक्का पोसिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिरहेको छ ।

मङ्सिरबाट जिल्लाका काँकरभिट्टा, इँटाभट्ट, बिर्तामोड, भद्रपुर, दमकलगायत सहरी क्षेत्र र ग्रामीण क्षेत्रका चोक तथा बजारमा भाक्का बनाएर राजवंशीलगायत अन्य समुदायले बिक्री गर्दै आएका छन् । पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने हुँदा भाक्का खानु स्वास्थ्यका लागि अति उत्तम हुने मेचीनगर नगरपालिका–७ वडाध्यक्ष प्रल्लाद ओलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरका राजवंशी समुदायले यही पुस २९ गतेलाई भाक्का दिवसका रूपमा नौ वर्षदेखि मनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *