कात्तिक २३, मुस्ताङ – एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो ।
बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेँसीमा झारिने र बर्खायाममा हिउँ पग्लिन थालेपछि उच्च लेक तथा खर्कमा पुर्याएर याकचौँरीको व्यवस्थापन गर्ने गरिन्छ । मुस्ताङका पाँच स्थानीय तहका उच्च लेकमा पालिएका परम्परागत याकचौँरी कात्तिकदेखि जेठ महिनासम्म बेँसीमा स्थान्तरण गरिने गरिएको छ । यसरी हिउँदयाममा हिमपात र चिसो छल्न झारिएका याकचौँरीलाई गर्मी सुरु भएपछि वैशाखदेखि असोज मसान्तसम्म उच्च लेकमा राखिने गरिएको हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनले बताए ।
हिउँदयाममा उच्च लेकमा हिउँले चरनक्षेत्र अभाव हुने याकचौँरीलाई घाँस, पानी र आहारा व्यवस्थापन गर्न समस्या हुने तथा गोठालालाई पनि हिमपात र चिसोले सास्ती पुर्याउने भएकाले उच्च लेक र खर्कका याकचौँरी क्रमशः बेँसी झारिने गरिएको हो । यसरी झारिएका याकचौँरी बर्खायाममा उच्च लेकका अस्थायी गोठमा लगेर पालन गरिन्छ । बर्खायाममा हिउँ पग्लिएर घाँस पलाउने र गोठालालाई याकचौँरी व्यवस्थापन गर्न सहज हुने भएकाले समुद्री सतहको चार हजार मिटरमाथिको उच्च लेकमा याकचौँरीपालन गर्ने गरिएको समितिका सचिव हिराचनको भनाइ छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० घरपरिवारका १० गोठका झण्डै एक हजार याकचौँरी हिमपात र जाडो छल्न बेँसी झारिएको समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो । त्यसैगरी थासाङस्थित धवलागिरि आइफल रहेको मुलीखर्क लेकका आठ घरपरिवारका करिब पाँच सय याकचौँरी र थासाङ–१ र घरपझोङ–२ मा पर्ने बतासे लेकमा रहेका छ घरपरिवारका करिब सात सय याकचौँरी हिमपातसँगै जाडो छल्न बेँसी झारिएको समिति सचिव हिराचनको भनाइ छ ।
यहाँको थासाङ–२ स्थित मार्चे लेकमा १०, मुलिखर्कमा आठ र बतासे लेकमा छवटा चौँरीगोठ रहेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए । मार्चे लेकमा थासाङ गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घम्ती गोठ निर्माण भएको उनको भनाइ छ । थासाङ गाउँपालिकाअन्तर्गत कोवाङ, सौरु, खन्ती, लार्जुङ, नाउरिकोट, नाकुम, बोक्सी खोला, छाक्ताङ र ताक्लुङका पशुपालकहरूले परम्परागत रूपमा चौँरीपालन व्यवसाय अपनाउँदै आइरहेको वडाध्यक्ष शेरचनले उल्लेख गरे ।
यहाँको घरपझोङ–४ जोमसोमका याकचौँरीपालक भूपेन्द्र शेरचन र वीरबहादुर घर्तीका करिब पाँच सय बढी चौँरी हिमपातका कारण ठिनी गाउँमाथिको लेकमा झारिएका छन् । समुद्री सतहको उच्चस्थानमा गोठ खडा गरी पालन गरिएका शेरचन र घर्तीका चौँरी नमुख लेकबाट तलको पारिलो स्थानमा झारिएको हो । भूपेन्द्रले हिउँदयाममा चौँरी रेखदेख गर्न समस्या हुने र उच्च लेकमा घाँस र खानेपानीको समस्या हुने भएकाले बेँसी झार्नुपरेको सुनाउनुभयो । यहाँको घरपझोङ गाउँपालिकास्थित स्याङ, मार्फा र जोमसोमका गरी सात घरपरिवारले याकचौँरीपालन गरेका उनी बताउछन् ।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यामा एक र वडा–४ ध्येगाउँमा एक गरी दुई घरले करिब पाँच हाराहारीमा याकचौँरीपालन व्यवसाय गरेको ताङ्ग्याका कर्मा साङ्वो गुरुङले जानकारी दिए । बर्खायाममा उच्च लेकको कराङमा रहेका चौँरी हिमपातपछि थाक्से लेकको पारिलो स्थानमा राखिएको जानकारी दिए । त्यसैगरी लोघेकर–४ ध्येका चाँैरीपालक कुन्साङ रिनजीन गुरुङले पनि हिमपातपछि आफ्ना चौँरी बेँसी नजिकको लेकमा ल्याएर राखेको बताए ।
त्यसैगरी माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका लोमान्थाङ र सम्जुङमा पनि चौँरीपालन गरिएको छ । पछिल्लो समय उच्च हिमाली क्षेत्रमा परम्परागत संस्कृतिका रूपमा व्यावसायिक याकचौँरीपालन जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकको चरनक्षेत्रमा घाँस अभाव हुनु र हिमचितुवालगायत वन्यजन्तुको आक्रमणबाट याकचौँरीलगायत घरपालुवा पशुचौपायामा क्षति हुँदै जाने जोखिमका कारण यहाँको परम्परागत संस्कृतिका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।
यहाँका पालन गरिएका चौँरी तथा याकनाकपालनलाई जलवायुको सङ्कट थपिएको हो । भारी हिमपात, आंशिक हिमपात र कुनै याममा हिउँ नै नपर्ने प्राकृतिक घटनाका कारण जलवायुको प्रत्यक्ष र परोक्ष असर चौँरीपालनमा परेको छ । मुस्ताङका किसानले चौँरीको दूधबाट दही, घिउ र छुर्पीलगायतका परिकार निर्माण गर्छन्, चौरीको पुच्छर हिन्दू धर्मालम्बीहरूले पूजा कोठामा राख्ने भएको यो महँगो मूल्यमा बिक्री हुन्छ ।
यहाँको घरपझोङ र थासाङका याकचौँरीपालकले बर्सेनि वैशाख र भदौमा याकचौँरीको आलो रगत निकालेर दोहोरो फाइदा निकाल्छन् । यहाँ वयस्क याकचौँरीलाई मासुका रूपमा समेत उपयोेग गरिने भएकाले एउटै जिउँदो याकको मूल्य रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म पर्छ ।
