कात्तिक १४, महेन्द्रनगर – कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ ।
बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेशभक्त पोखरेलले जानकारी दिए ।
‘राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो’, सिडीई पोखरेलले भने , ‘अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चारवटा प्याकेजमा भइरहेको छ ।’ चार प्याकेजको मूल नहर निर्माणका लागि एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ । करिब दुई वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि चारवटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ ।
आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३र६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६र७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट) देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८।८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिए ।
भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेडरेगुलेटरलगायतका संचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकरात्मक देखिएको छैन ।
‘मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, पाँच–सातवटा शाखा नहरसमेत निर्माण गरिएको छ’, पोखरेलले भने , ‘पानीका लागि पटकपटक ताकेता पनि भएको छ ।’ उनले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा रु नौ अर्ब लगानी भइसकेको जानकारी दिए ।
करिब दुई वर्षअघि मालाखेतीसम्म चारवटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ । ‘मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झनलगायतका कारणले कामले गति धेरै लिन सकेन’, उनले भने, ‘पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन । आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनबस्ती, गुलरिया र दोधारा चादँनी पुर्याइनेछ । त्यसका लागि कुल एक सय ५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ ।
आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छभने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गनुपर्ने बाध्यता विद्यमान छ ।
महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिचाँइ सुविधा पुगेको थियो ।

 
				
					                
                