गंगामाया अझै अस्पतालमै

काठमाडौं-न्यायको माग राखी अनशनरत अवस्थामै दुई महिनाअघि मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको अझै अन्तिम संस्कार भएको छैन । कान्तिपुर दैनिकमा समाचार छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० मनाउने तयारी भइरहेका बेलामा छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनशनै ज्यान गुमाएका अधिकारीको शव साढे दुई महिनादेखि शिक्षण अस्पतालमा अलपत्र रहेकोबारे चासो देखाइएको छैन । न त वीर अस्पतालको आईसीयूमा उपचाररत उनकी श्रीमती गंगामायाकै मानवअधिकारबारे कुरा उठ्ने गरेको छ ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै गोरखा फुजेलका अधिकारी दम्पती आमरण अनशन बसेका थिए । अस्पतालमै अनशनका क्रममा ३ सय ३३ दिनमा नन्द्रप्रसादको गत असोज ६ गते मृत्यु भएको हो । कृष्णप्रसादलाई ०६१ जेठ २४ मा चितवनको बकुलर चोकमा हत्या गरिएको थियो । माओवादीले १७ वर्षे छोराको अपरहणपछि हत्या गरेको दम्पतीको आरोप छ ।

पतिको मृत्युपछि पनि अनशनरत गंगामायाले सरकारले माग पूरा गराउने ५ बुँदे सम्झौतामा प्रतिबद्धता जनाएपछि कात्तिक १ मा तरल पदार्थ मात्र खाने सहमतिमा अनशन तोडेकी थिइन् । लामो अनशनले उनको स्वास्थ्य अत्यन्तै नाजुक थियो । उपचारकै लागि उनलाई लामो समय अस्पताल बस्नुपर्नेछ ।

कात्तिक १० मा मन्त्रिपरिषदले नन्दप्रसादको शव हिन्दु परम्पराअनुसार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय लिएको थियो । तर हालसम्म दाहसंस्कार गरिएको छैन ।

प्रधानमन्त्री कार्यालयका उपसचिव विनोद गौतमले सरकारले गंगामायाकै उपस्थितिमा छोरा नुरप्रसादबाट अन्त्येष्टि गराउन चाहे पनि नुरप्रसाद सम्पर्कमा नआएकाले ढिलाइ भएको बताए । प्रक्रियाअनुसार सरकारले शव जलाउने निर्णय गरेपछि ३५ दिनसम्म कोही आफन्त आउलान् कि भनेर पर्खनुपर्ने हुन्छ । हालसम्म पनि कोही नआएपछि शवको अन्त्येष्टि कसरी गर्ने भन्ने अन्योल छ । प्रहरी ऐनमा बेवारिसे शव अध्ययनका लागि शिक्षण संस्थानलाई दिने कि प्रहरी र स्थानीय निकायको सहयोगमा सदगत गरिने व्यवस्था छ ।