साउन १८, मकवानपुर – “हामी खोला र वनका रक्षक हौँ, अपराधी होइनौँ, हाम्रो संस्कृति, पेसा र पहिचान जोगाउन सरकारले ध्यान दिनुपर्छ”, माछा मार्ने जाल बुन्दाबुन्दै जनप्रतिनिधि बन्नुभएकी मकवानपुरको मनहरी गाउँपालिका–७ की कान्छीमाया बोटेले भनिन् । माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिनुपर्ने उनको माग छ ।
कान्छीमाया भन्छिन्, “वन र खोलामा नजाने हो भने घर चल्दैन, जाने हो भने निकुञ्जले समातेर आधाबार पुर्याउँछ र अपराधीजस्तो महसुस गराउँछ । त्यसैले सरकारले हाम्रो परम्परगत सीप र जीवनशैली बुझिदिनुपर्छ ।” खोलामा माछा मार्ने विकल्पका रूपमा धन कमाउन विदेश गएको २७ वर्षीय छोराको शव फर्किएको घटना सम्झँदै उनी भन्छिन्, “हामीलाई विदेशमा मर्न बाध्य नबनाऊ सरकार, हाम्रो आफ्नै पहिचान छ, जुन वातावरणमैत्री नै हो ।” उहाँका अनुसार बोटे समुदाय प्रकृति पुजारी भएकाले प्रकृतिलाई क्षति नपुर्याई जीवन धान्ने गरिएको थियो । सामुदायिक वन भने पनि पस्न नपाउने भएकाले त्यो समुदायको हो भन्नेसम्म पनि नलागेको कान्छीमाया बताउछिन् ।
राप्ती खोलामा माछा मार्न नपाइने र जङ्गलमा जान नपाइने अवस्था आएपछि बोटे समुदाय परम्परागत पेसाबाट विस्थापित हुँदै गएको कान्छीमायाले बताइन्। उनका अनुसार बोटे समुदायको परम्परागत पेसा माछा मार्ने र डुङ्गा चलाउने हो, तर पर्सा र चितवन राष्ट्रिय निकुञ्जको छेउबाट बग्ने राप्ती नदीमा माछा मार्न प्रतिबन्ध लगाइएपछि करिब ५० घर रहेको बोटे बस्ती रोजगारीविहीन बन्दै गएको छ ।
कान्छीमाया भन्छिन्, “माछाबिना हाम्रो संस्कारै रोकिन्छ, न जन्मोत्सव हुन्छ, न मृत्युसंस्कार ।” उनका अनुसार राप्ती खोला र नजिकको जङ्गलमा आश्रित बोटेहरूका लागि पहिल्यै दिइएको माछा मार्ने अनुमतिपत्र (लाइसेन्स) दुई वर्षदेखि नवीकरण भएको छैन । करिब ३५ जनाले पाएको लाइसेन्स पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले नवीकरण नगरेपछि समस्या चुलिएको उनी बताउछिन् ।
कान्छीमायाका अनुसार बोटे समुदायको जीवनयापनको माध्यम नै वनको कुरिलो, निगुरो, तामालगायत सङ्कलन गर्ने र बेचेर घर धान्नेमा उक्त कार्य निकुञ्जको नियमनले रोक लगाएको छ भने खोला किनारमा खोलिएको सामुदायिक माछापोखरी पनि गाउँपालिकाको सहयोग नपाउँदा बन्द भएको छ । वैकल्पिक रोजगारी खोज्दै बोटे समुदायका धेरैजसो सदस्य इँटाभट्टा, बालुवा सङ्कलन, खेतमा मजदुरी, बाख्रापालन, गाईपालन र भाडाको जग्गामा कृषिकार्यमा लागेका छन् । तर यसले दीर्घकालीन समाधान दिएको छैन ।
निकुञ्ज प्रशासनले नवीकरणका लागि सङ्कलन गरेको माछा मार्ने अनुमतिपत्र नदिएकाले तनाव भएको जितबहादुर बोटे बताउछन् । उनी भन्छन्, “हामीलाई पन्ध्र सय कमाउन निकै मुस्किल पर्छ तर पन्ध्र सय पर्ने जाल निकुञ्जले खोसेर लान्छ, हामी रुँदै घर फर्कन्छौँ, कहिले त भोकै सुत्नुपर्छ”, अनुमतिपत्र नवीकरण भए जीवन धान्न सहज हुनेउनी बताउछन्