दलहरुले अझै सार्वजनिक गरेनन् चुनावी खर्च विवरण

कात्तिक २४, काठमाडौं– संविधानसभा निर्वाचन भएको एक वर्ष हुन लाग्दा पनि प्रमुख राजनीतिक दलहरुले चुनाव खर्च सार्वजनिक गरेका छैनन् ।निर्वाचनअघि नेपाली कांग्रेस,नेकपा एमाले ,एकीकृत नेकपा माओवादीले चुनावी खर्चलाई पारदर्शी बनाउने दाबी गर्दै चन्दा र चन्दादाताको नामसमेत सार्वजनिक गर्ने प्रतिवद्दता जनाएका थिए । तर,उनीहरुले आफ्नै प्रतिवद्दता लत्याएका छन् । निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर आयोगमा समानुपातिकतर्फको खर्च विवरण बुझाएका दलहरुले त्यो समेत सार्वजनिक गरेका छैनन् । जबकि,कांग्रेस,एमालेसहितका दलले चुनावअघि जनताप्रति जवाफदेही हुने दाबी गर्दै चन्दालाई पारदर्शी बनाउने प्रतिवद्दता जनाएका थिए ।

कांग्रेसले निर्वाचनमा चन्दा सहयोग गर्ने दाताको नाम र रकम पार्टीको आधिकारिक वेबसाइटमा हेर्न सकिने दाबी गरेको थियो । पार्टी सभापति सुशील कोइराला ,बरिष्ठ नेता शेरबहादुर देउवा,उपसभापति रामचन्द्र पौडेलको संयुक्त हस्ताक्षर रहेको प्रतिबद्धतापत्र कोषाध्यक्ष चित्रलेखा यादवले सार्वजनिक गरेकी थिइन् । तर,कांग्रेसले अहिलेसम्म न दाताको नाम सार्वजनिक गरेको छ न कति रकम निर्वाचनमा सहयोग आयो भन्ने नै खुलाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।