बैशाख २४, काठमाडौं – खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ ।
सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरचना हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित भएका नगरवासीलाई आफ्नै गाउँ फर्किएर बसोबास गर्न चाहेमा सहयोग गर्ने निर्णय गरेको हो ।
नगर कार्यपालिकाले विस्थापित नगरवासीको लगत सङ्कलन गर्न उपप्रमुख रमेशकुमार राउतको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले सूचना जारी गरी आवेदन आह्वान गर्ने र आफ्नो ठाउँमा फर्कन इच्छुक परिवारको पहिचान गरी आवास निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख राईले जानकारी दिए ।
नगरका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष कमल गिरीका अनुसार आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाख उपलब्ध गराइनेछ ।
यसैबीच, जिल्लाका १० वटा स्थानीय तहलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न जिल्ला प्रशासन कार्यालयले परिपत्र गरेको छ । प्रशासकीय अधिकृत प्रभात ढकालले अतिक्रमित जग्गाको पहिचानसहित अतिक्रमण हटाउने योजनासमेत पेस गर्न भनिएको बताए ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनका आधारमा उक्त विवरण मागिएको हो । “अतिक्रमित जग्गा राज्यको स्वामित्वमा ल्याउन सरकारले पहल थालेको छ । लगत सङ्कलनपछि आवश्यक प्रक्रिया पूरा गरी अतिक्रमित संरचना हटाउनेछौँ”, उनले भनिन्
