मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ स् खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

चैत २३, काठमाडौ – ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगरले जितेका छन । महिला र पुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा निर्मलाले आठ घण्टा २० मिनेट तथा विनोद छ घण्टा ५० मिनेटमा दूरी पार गर्दै उपाधि जितेका हुन।

महिलातर्फ रोल्पाकी आश्मा विश्वकर्मा नौ घण्टा २१ मिनेटमा दोस्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पा १० घण्टा ५६ मिनेटमा दूरी पार गर्दै तेस्रो भएका हुन । पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ छ घण्टा ५६ मिनेटसहित दोस्रो र सोही जिल्लाका मिलन कुलुङ सात घण्टा छ मिनेटमा दूरी पार गर्दै तेस्रो भएका हुन ।

भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको मुन्दुम ट्रेल अल्ट्रा रेस प्रतियोगिता आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामाखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङसम्म निर्धारण गरिएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेता धावकहरूले क्रमशः नगद रु ८० हजार, रु ६० हजार र रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, ४५ किलोमिटर खुला पुरुषतर्फ काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू दोस्रो र भोजपुरका उमेश राई तेस्रो भएका छन। महिलातर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोशनी बुढा दोस्रो र भोजपुरकी रुष्मा राई तेस्रो भएका छन ।

भेट्रान पुरुषतर्फ धरानका यमनाथ लिम्बू प्रथम, धरानकै विजयकृष्ण राई दोस्रो र सुनसरीका रेशम लिम्बू तेस्रो हुनुभएको छ भने महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र सोही स्थानकी बिनिता राई दोस्रो भएका हुन । प्रतियोगिताका विजेताहरूलाई कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका छन ।

मन्त्री पराजुलीले तावाभञ्ज्याङ क्षेत्र पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउदै यसको समग्र विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । “मुन्दुम ट्रेलको प्रस्थान विन्दु यही क्षेत्रमा भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने निश्चित छ । साकेला गाउँपालिकाले अघि सारेको भिजनअनुसारका योजना कार्यान्वयन गर्न सके यो क्षेत्र मात्र होइन, समग्र देशको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ,” उनले भने , “पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले तावाभञ्ज्याङ क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपेको छ । पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार गम्भीर छ ।”

नेपालका लागि स्विस सरकारका राजदूत डा डेनेली मेउली, कोशी प्रदेशसभाअन्तर्गत आर्थिक विकास समिति सभापति विनोद वान्तवा, भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेमगर, आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *