गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

चैत २२, काठमाडौ- गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ घमिरमा शनिबार सञ्चालन गरिएको निःशुल्क औषधिसहितको बृहत् स्वास्थ्य शिविरबाट एक हजार ३०० नागरिकले लाभान्वित भएका छन् ।

खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा घमिर स्वास्थ्यचौकीमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

क्लबका सचिव गोविन्द कार्कीका अनुसार शिविरमा एक सय ३८ जनाले ‘भिडियो एक्सरे’ तथा एक सय पाँच जनाले ‘इसिजी’ गराएका थिए । त्यस्तै, मधुमेह, रक्तचाप, थाइराइड, बाथ, दम, पेट, छाती तथा मुटुरोग, महिला तथा स्त्रीरोग, हाडजोर्नी, आँखा तथा नाक, कान, घाँटीसम्बन्धी रोगको विशेषज्ञ सेवा पनि उपलब्ध गराइएको थियो ।

शिविरमा चिकित्सकहरू डा रमेश अर्याल, डा सुनिल सुनार, डा सुमन आचार्य, डा सन्तोष बस्नेत, डा विजय पाण्डे, डा आशिष भुर्तेल र डा सन्तोष पाण्डेलगायतले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै बिरामीलाई परामर्श दिएका छन।

आयोजक संस्थाका सल्लाहकार मनोज कार्कीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै सीमित रहेकाले यस्ता शिविरले स्थानीयवासीलाई ठूलो राहत पुगेको बताए । “गाउँमै आएर विशेषज्ञ सेवा लिन पाउँदा बिरामीलाई समय र खर्च दुवै बचत भएको छ, यसबाट स्थानीय पनि निकै खुसी हुनुभयो”, उनले भने ।

शिविरमा सेवा लिनुभएकी स्थानीय महिला पुतली कार्कीले गाउँमै विशेषज्ञ डाक्टरबाट सेवा लिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए । “बिरामी हुँदा सामान्य जाँच गर्न पनि सदरमुकाम जानुपथ्र्यो, आज गाउँमै सबै सेवा लिन पाइयो, यस्ता प्रकारका शिविर बेलाबेलामा ल्याउनुपर्छ”, उनले भने । पछिल्लो समयमा जिल्लामा स्थानीय पालिका र सङ्घसंस्थाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता प्रकारका शिविरलाई निरन्तरता दिँदै जान थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *