चैत ८ , काठमाडौ -धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । आर्थिक वर्ष २०८१ -८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया गरिएका थिए ।
अस्पतालद्वारा हालै आयोजित सामाजिक जवाफदेहिता सम्बन्धी कार्यक्रममा दिइएको जानकारी अनुसार १७ शय्याको सो अस्पतालले सामाजिक सेवाअन्तर्गत १८५ प्रकारका औषधि वितरण गरिरहेको छ । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत ३० वर्षभन्दा माथिका ६६ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।
विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा अस्पताल बनाइएको थियो ।
कार्यक्रमका सहभागीहरूले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिँदै तत्काल नयाँ एम्बुलेन्स उपलब्ध गराउन माग गरेका थिए । सो अस्पतालाई निक साइमन संस्थाले चिकित्सकीय एव अन्य सहयोग गर्दै आएको छ । अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, घाउ–खटिरालगायतका शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालनमा छन् । साथै भिडियो एक्स–रे, दन्त सेवा र प्रयोगशाला सेवा पनि विस्तार गरिएको छ ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले अस्पतालको सेवा सुधार हुँदै जानकारी दिनुभयो । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा धामीझाँक्रीको निर्भर रहनुपर्ने अवस्थाबाट अहिले आधुनिक उपचार सेवा उपलब्ध हुनु सकारात्मक परिवर्तन भएको बताए ।
विसं २०७२ को विनाशकारी भूकम्पले अस्पतालका पुराना संरचना पूर्ण रूपमा ध्वस्त बनाएको थियो । यसपछि करिब दुई वर्षसम्म ‘टेन्ट’मै बिरामी राखेर सेवा दिनुपरेको अवस्था थियो । अस्पतालको सेवा तत्काल सुचारु गर्न तत्कालीन वरिष्ठ जनस्वास्थ्य अधिकृत डा गुण शर्माले अथक योगदान दिनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी र विदेशी दातृ संस्थाको सहयोगमा प्रिफेब्रिकेटेड मोडेलको अस्पताल निर्माण भएपछि सेवा प्रवाह सहज बनेको हो ।
अस्पतालका मेसु डा अमितकुमार साहले अस्पतालमा जटिल उपचार सेवासमेत सम्भव भएको बताए ।
कार्यक्रममा डा सुनिलकुमार दास, सञ्चालक समिति अध्यक्ष निवेश श्रेष्ठ, जनस्वास्थ्य अधिकृत आचार्यलगायतले अस्पतालको सेवा सुधारका बारेमा जानकारी दिँदै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी दिएका थिए । पत्रकार महासङ्घका अध्यक्ष केशवप्रसाद पौडेल तथा विभिन्न सञ्चारकर्मीहरूले अस्पतालको पारदर्शिता र सामाजिक जवाफदेहिताको अभ्यास प्रशंसनीय रहेको बताए ।
