उमेर बढेसँगै शरीरका कोषहरू क्रमशः कमजोर हुँदै जान्छन्, जसको असर छालामा चाउरीपनका रूपमा देखिन्छ । यो समस्या पूर्ण रूपमा हटाउन नसकिए पनि सही खानपान र स्वस्थ जीवनशैली अपनाएर धेरै हदसम्म कम गर्न सकिन्छ । सुन्दर अनुहार र फुर्तिलो शरीरका लागि सबैभन्दा पहिले शरीरको मेटाबोलिजम सन्तुलित हुनुपर्छ । मेटाबोलिजममा गडबडी हुँदा चाउरीपन चाँडै देखिन सक्छ । त्यसैले दैनिक खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । कार्बोहाइड्रेट र प्रशोधित खानेकुरा कम गर्दा यसले सकारात्मक प्रभाव पार्छ ।
प्रोटिनयुक्त खाना खाने
प्रोटिन छालाको मर्मत र पुनर्निर्माणका लागि अत्यन्त आवश्यक पोषक तत्व हो । तौलअनुसार शरीरलाई आवश्यक प्रोटिन लिनुपर्छ । माछा, मासु, अण्डा प्रोटिनका राम्रो स्रोत हुन् । साकाहारीका लागि सोयाबिन, दाल, बदाम तथा ड्राइफ्रुट्स उत्तम विकल्प हुन् ।
भिटामिन ‘बी’ मिलाएर खाने
चाउरीपन कम गर्न भिटामिन ‘बी’ पनि आवश्यक हुन्छ । दूध, दही, पनिर, चीजजस्ता दुग्धजन्य पदार्थमा भिटामिन ‘बी’ प्रशस्त पाइन्छ । यी खानेकुरालाई दैनिक खानामा समावेश गर्दा छाला स्वस्थ र आकर्षक रहन्छ ।
चिनीको मात्रा घटाउने
धेरै चिनी सेवन गर्दा छाला छिटो बूढो देखिन थाल्छ । यसले छालाको लचकता घटाएर चाउरीपन बढाउाछ । त्यसैले चिया, मिठाई तथा अन्य गुलियो खानेकुरामा चिनीको प्रयोग कम गर्नुपर्छ । चिनी कम गरेपछि केही समयमै छालामा चमक आउँछ र अनुहार टाइट देखिन थाल्छ ।
