माघ ११, काठमाडौ – इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गरेका हुन ।
उद्घाटन समारोहमा प्रमुख पौडेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताए । उनले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।
राष्ट्रपति रनिङ शिल्डअन्तर्गत राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरपालिकाले विशेष सम्मान तथा पुरस्कार प्रदान गर्ने प्रमुख पौडेलले प्रतिबद्धता जनाए । खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्दै जाने उनको भनाइ छ ।
उपमहानगरको शैक्षिक शाखा प्रमुख रमेश शाहले उपमहानगरभित्रका माध्यमिक तहका विद्यार्थी प्रतियोगितामा सहभागी हुने जानकारी दिए । उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पालिकास्तरीय र त्यसपछि उच्च तहको प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाई जम्प, लङ जम्पलगायतका विभिन्न खेल विधा समावेश गरिएको छ । प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ भने अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति छ । उपमहानगरले यस्ता प्रतियोगितामार्फत विद्यालयस्तरमा प्रतिभावान् खेलाडी पहिचान गरी उनीहरूको क्षमता विकास हुने जनाएको छ ।
