पुष २७ ,काठमाडौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो १ बजे हुने तय भएको छ। उद्घाटनअघि पार्टीको शक्ति प्रदर्शनका रूपमा काठमाडौँ र ललितपुरका ६ विभिन्न स्थानबाट जुलुस निकालिनेछ ।
महाधिवेशन आयोजक समितिका अनुसार सबै जुलुस बिहान ११ बजे सम्बन्धित स्थानबाट सुरु भई भृकुटीमण्डपमा प्रवेश गर्नेछन्। जुलुसपछि उद्घाटन कार्यक्रम सुरु हुनेछ। उद्घाटन समारोह सकिएलगत्तै आजै बन्दसत्र प्रारम्भ गरिने छ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।
जुलुस निस्कने रुट विवरण
रुट नम्बर १ (सुन्धारा)
सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन्। काठमाडौँ निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन्। जुलुस सुन्धारा–वीर अस्पताल–रत्नपार्क (पुरानो बसपार्क) हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर २ (रत्नपार्क)
नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौँको उत्तरी क्षेत्रसहित निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता रत्नपार्कमा जम्मा हुनेछन्। जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल पुग्नेछ ।
रुट नम्बर ३ (पद्मकन्या क्याम्पस)
बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता यस रुटमा सहभागी हुनेछन्। काठमाडौँ क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता पनि यही जुलुसमा रहनेछन्। जुलुस पद्मकन्या क्याम्पस–पुतलीसडक–शंकरदेव क्याम्पस–पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर ४ (शंकरदेव क्याम्पस)
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौँ निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस शंकरदेव क्याम्पस–पुतलीसडक–पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ ।
रुट नम्बर ५ (कमलपोखरी)
काठमाडौँ निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीमा जम्मा भई चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन्।
रुट नम्बर ६ (कुपण्डोल)
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ताको सहभागिता रहनेछ । जुलुस कुपण्डोल–थापाथली–त्रिपुरेश्वर–सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।
विशेष महाधिवेशनलाई लिएर देशभरबाट ठूलो संख्यामा कांग्रेस नेता–कार्यकर्ता काठमाडौँ भेला भइरहेका छन्। आयोजक समितिले महाधिवेशनलाई शान्तिपूर्ण, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।
