मंसिर २६, कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बस्नुभएका करनबहादुर ऐर । पैसठ्ठी वर्ष नाघ्नै लागेका उनका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ ।
उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल हिँड्दै झलारी बजार आइपुग्छन् । बजार उनलाई धेरैले नामले भन्दा पनि मेहेनतले चिन्छन् । ठेलामा सजाइएका थरिथरिका फलफूल, खेलौना, विस्कुट, चाउचाउ, कुरकुरे, बदामलगायत सामान धेरै छैनन्, तर ऐरका लागि ती नै परिवार धान्ने आधार हुन् । दशकअघिदेखि सुरु गरिएको यो व्यापार अहिले स्थिर आयस्रोत बनेको छ । करिब रु २० हजार लगानीबाट चलेको ठेलाले उनलाई दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाइदिन्छ । सडक छेउकै ठेला भएकाले सवारीसाधनका चालक, परिचालक, सडकमा हिँड्ने यात्रु उनका ग्राहकका रूपमा रहने गर्दछन् ।
‘ठेलाको कमाइ घरखर्च, लत्ताकपडा, औषधोपचारलगायत लागि पुग्छ ’ उनी भन्छन् ‘पाखुरी चल्दासम्म अरुको भर पर्नुपरेको छैन, जति कमाइ हुन्छ त्यसबाट घर चलेको छ, अरूकहाँ हात पसार्नु मन पर्दैन ।’ ऐरका दुई छोरा भए पनि उनको आफ्नै काम छ । छोराहरूको कमाइमा भने ऐर दम्पतीले अहिलेसम्म भर पर्नुपरेको छैन ।
उमेर पुगेका धेरै मानिसले विश्राम खोज्ने बेला, छोराबुहारीको भर पर्नुपर्ने समयमा ऐर भने आफ्नै पौरखमा बाँच्दै आएका छन् । व्यवसायमा उहाँको सबैभन्दा ठूलो सहाराका रूपमा श्रीमती रहेका छन् । ‘दुई जनाले मिलेर चलाउँछौँ, यसैमा घर सजिलै चल्छ’, उनी भन्छन्
ठेलामा समान बेच्ने मात्र नभई ऐर गाउँका पुराना अगुवा पनि ह्न् । तत्कालीन झलारी गाउँविकास समितिका वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य, अनि असिग्राम माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष भएर कार्य गर्नुभएका यी सबै भूमिका उहाँका समाजसेवा र नेतृत्वका प्रमाणका रूपमा रहेका छन् । जीवनका सबैभन्दा ऊर्जाशील वर्षहरू उनले समुदायका काममा खर्चेका छन् । .‘समाजका लागि सकेजति गरेँ”, उहाँ भन्नुहुन्छ, “अब बाँकी जीवनका लागि आफैँले केही गर्नुपर्छ ।’ झलारी बजारमा आवतजावत गर्ने जोकोही पनि उनको अनुशासन, समयपालन र ग्राहकसँगको व्यवहारबाट प्रभावित हुन्छ ।
उनी चर्को आवाजमा बोल्नुहुन्न, तर उनको विनम्र व्यवहारले धेरैलाई आकर्षित गर्छ । उहाँलाई धेरैजसोले सभापति भनेर पनि चिन्ने गर्दछन् । सभापतिज्यू भनेपछि मुस्कुराएर विनम्र स्वरमा बोल्ने बानीले सबैले उहाँको आदर गर्ने गर्दछन् । जब साँझ पर्छ बजार सुस्ताउँदै जान्छ । नजिकैका पसल र होटलमा बत्ती बल्न थाल्छन् ।
त्यही बेला ऐर आफ्नो ठेलामा भएका समान समेटेर नजिकका पसलमा राखेर घर फर्कनुहुन्छ । त्यो प्रक्रिया दैनिक दोहोरिरहन्छ । तर ऐरका कदम थाक्दैनन् । किनकि थकानले उहाँलाई रोक्दैन– जीवनले सिकाएको आत्मनिर्भरता अगाडि बढिरहेछन्।
