मंसिर २६,भोजपुर – विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।
यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै सामुदायिक विद्यालयको घेराबारा गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयहरुको घेराबारा गरेको उनको भनाइ छ ।
‘हामीले गाउँपालिकाभित्रका सबै विद्यालयको घेराबाराको काम सम्पन्न गरेका छौँ”, उपाध्यक्ष राईले भने ‘ विद्यालयमा घेराबारा नहुदा विभिन्न खालका समस्या देखिएपछि हामीले घेराबाराको कार्यक्रम सञ्चालन गरेका हौँ । ’
धेरै विद्यालयहरु एकान्तमा रहेकाले विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको सिंहदेवी माध्यमिक विद्यालय लेखर्कका प्रधानाध्यापक राजधन राईले बताए । घेराबारा गरिएपछि विद्यालयसँगै विद्यार्थीहरुको सुरक्षामा सहजता भएको उनको भनाइ छ । विगतमा विद्यालय क्षेत्र खुला रहँदा भौतिक संरक्षण तोडफोड हुने, गाईबस्तु चराउनेलगायतको समस्या रहेकोमा अव त्यसको अन्त्य भएको उनको भनाइ छ ।
‘विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो’, प्रधानाध्यापक राईले भने ‘विद्यालयको चौरमा गाईबस्तु शैक्षिक गतिविधिमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरुको प्रवेश हुँदा शिक्षण सिकाइमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पत्तिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।’
गाउँपालिकाले यहाँको शैक्षिक सुधारको लागि भौतिक संरचना निर्माणसँगै विद्यालय प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण निर्माणमा गाउँपालिकाले ध्यान दिएको उनको भनाइ छ ।
गाउँपालिकाले वार्षिक रुपमा उत्कृष्ट विद्यालयको छनोट गरेर पुरस्कृत गर्दै आएको अध्यक्ष बस्नेतको भनाइ छ । विद्यालयलाई लक्षित गरेर वार्षिक रुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत सञ्चालन भइरहेको उहाँले जानकारी दिए ।
‘हामीले सामुदायिक विद्यलायको शैक्षिकसँगै भौतिक सुधारमा जोड दिएका छौँ”, अध्यक्ष बस्नेतले भने, ‘वार्षिक रुपमा उत्कृष्ट विद्यालयलाई प्रोत्साहनसँगै प्रतिभा पहिचानको कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ ।’ गाउँपालिकाले शैक्षिक अनुसन्धानको कामसमेत गरिरहेको छ । स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उनको भनाइ छ ।
