मंसिर ९, काठमाडौ- नेपालमा पहिलोपटक बाथ रोगको अनुवाङ्शिक ‘जेनेटिक’ कारण पत्ता लगाउन नयाँ तीनवटा परीक्षणको सुरु गरिएको छ । नेक्स जेन ल्याब सोलुसनले तीन किसिमका बाथरोग पत्ता लगाउन तीन किसिमका जेनेटिक परीक्षणको सुरुआत गरेको हो ।
सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेले नेपालमा पहिलोपटक नेपालमा बाथ रोग पहिचानका लागि नयाँ तीन परीक्षण सुरु गरिएको जानकारी दिए। उनका अनुसार बाथरोथ पहिचानका लागि ‘एचएलए–डिआरफोर’, ‘एचएलए–बी५१’, ‘एचएलए–बी२७ तीन प्रकारका परीक्षण भित्र्याएको हो । उनले उक्त विधिबाट बाथरोगको सुरुआती अवस्थामा नै रोग पत्ता लगाउन सकिने भएकाले बिरामीलाई उपचार गर्न सजिलो हुने बताए । ती परीक्षणबाट बाथ रोगको पहिचान चाँडै गरेपछि बिरामीले लामो समयसम्म औषधि सेवन गर्न नपर्ने प्रबन्ध निर्देशक पाण्डेले बताए ।
यसअघि बाथ रोग पत्ता लगाउन ती तीन प्रकारका परीक्षण गर्न विदेश नमूना विदेश पठाउनु पर्दथ्यो । ‘एचएलए–डिआरफोर’ अमेरिका र ‘एचएलए–बी५१’ तथा ‘एचएलए–बी२७ को परीक्षण भारत पठाउनु पर्दथ्यो । बाथ रोग सेन्टरका बाथरोग विशेषज्ञ डा सुधिर कर्माचार्यले बाथरोग पहिचान गर्न तीन प्रकारका परीक्षण नेपालमा हुने भएपछि बिरामीको उपचारमा पनि सहज हुने बताए । अब परीक्षण नेपालमा हुने भएपछि बिरामीको परीक्षण गर्न विदेश पठाउनुपर्ने झन्झट हटेको छ ।
विशेषज्ञ डा कर्माचार्यका अनुुसार नेपालमा कुल जनसङ्ख्याको २८ प्रतिशतलाई कुनै न कुनै बाथरोग लाग्ने गरेको छ । धेरैजसोलाई गठिया र युरिक एसिड जस्ता बाथरोग लाग्ने गरेको उनको भनाइ छ । बाथरोग लागेकामध्ये १० प्रतिशतको मात्र समयमा नै उपचार हुने गरेको छ ।
विशेषज्ञ डा कर्मचार्यले बाथरोग लाग्ने बित्तिकै थाहा पाएमा केही महिनाको औषधि सेवन गरेपछि निको हुने बताए। उनले बाथरोग फैलिँदै गयो भने बिरामीले जीवनभर औषधि खाएर बाथरोगलाई नियन्त्रण गर्नुपर्ने बताए ।
