कात्तिक १४, राँझा – बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित भएका छन् ।
बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताए ।
उनका अनुसार सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमा आबद्ध किसान महिलाले बाख्रापालन गर्दै आएका छन् । राप्तीसोनारीमा वन क्षेत्र बढी भएका कारण पनि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।
किसानले पालेका खसीबोका सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो रु १० नाफा खाएर बिक्री गर्दै आएका छन् । अन्य समयभन्दा दसैँतिहारको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ ।
राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले मात्र यो वर्ष किसानले उत्पादन गरेका एक सयभन्दा बढी खसीबोका खरिद बिक्री गरेको छ । यसबाट किसान महिलाले करिब रु १९ लाख आम्दानी गर्न सफल भएको संस्थाकी प्रबन्धक गुरुङको भनाइ छ ।
बाख्रापालनबाट राप्तीसोनारीका महिला किसान आत्मनिर्भरसमेत बन्दै गएका छन् । दसैँतिहारजस्ता ठूला पर्व मनाउने पैसा खसीबोका बिक्री गरेर आम्दानी गर्ने गरेको राप्तीसोनारी–७ का अगुवा लालबहादुर थापाले बताए ।
राप्तीसोनारी–७ लालपुरमा रहेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाले यो वर्ष दसैँतिहारमा करिब ३२ लाखका दुई सय बढी खसीबोका किसानबाट खरिद गरी बिक्री गरेको संस्थाका व्यवस्थापक पम्फा परियारले जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिकाको खासकुस्मा, कचनापुर, महादेवपुरी, बिनौना र बैजापुरमा पनि किसान महिलाले बाख्रापालन गर्दै आएका छन् । बाँके जिल्लाभरिबाट यस वर्षको दसैँतिहारमा रु दुई करोड बढीका खसीबोका जिल्लाका विभिन्न सहकारी संस्थामार्फत बिक्री भएको उनको अनुमान छ ।
सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक गुरुङले बताइन् ।
हेफर इन्टरनेसनललगायतका सङ्घसंस्थाले समेत बाँकेका बाख्रापालक किसान महिलाले उत्पादन गरेका खसीबोकाको बजारीकरणमा सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भर बन्दै गएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन चौधरीले बताए ।
।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्र भएको उल्लेख गरिन् । बाख्रापालनमा किसानलाई आकर्षित गर्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

 
				
					                
                