कात्तिक २, म्याग्दी – म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।
धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए । सेभेन समिट टे«किङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन् । मार्फा निस्कनुपर्नेमा जङ्गलैजङ्गलको बाटो भएर स्याङमा पुगेका हुन् । उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो ।
श्रमदानबाट झोलुङ्गे पुल मर्मत
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा रहेको झोलुङ्गे पुलको स्थानीयवासीले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् । बीस वर्षअघि निर्माण भएको पुलमा बिछ्याइएको काठको फल्याक खसेको र भाँचिएका कारण जीर्ण बनेको थियो । मर्मत भएपछि जीर्ण पुलमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ ।
स्थानीयले उपलब्ध गराएको टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय जनाले श्रमदान गरेका क्लबका अध्यक्ष गणेश केसीले बताए ।
काठ काट्न र सामग्री खरिदमा रु ६६ हजार ६०० खर्च भएको क्लबले जनाएको छ । स्थानीयवासीबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष केसीले बताउनुभयो । तीस मिटर लामो यो पुल अर्जेखोला, खर्क, बनाहपिङगे, थामडाँडा, सिङ्गा तातोपानीका बासिन्दाले प्रयोग गर्छन् ।
सडक यातायातको सुविधा हुनुअघि बरङ्जाका बासिन्दा तातोपानी र बेनी बजार आवतजावत यही झोलुङ्गे पुल रहेको पदमार्गको प्रयोग गर्दथे । बिजुली आमा समूह, सामुदायिक वन, बीएण्डपी क्लबलगायत सङ्घसंस्थाले पनि पुल मर्मतमा सहयोग गरेका क्लबका अध्यक्ष केसीले बताए ।