असोज ३०, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । ललितपुरको जावालाखेलमा बसिररहेको बैठकको आज दोस्रो दिन पनि बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको हो ।
आज ७५ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा र सुझाव राखिसक्नुभएको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए।
प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । उहाँले शुक्रबारसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि पदाधिकारीहरूले आफ्ना धारणा राख्ने जानकारी दिए।
पदाधिकारीको धारणापछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले जेनजी प्रदर्शनपछि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशन, पार्टीमा सुशासनका पक्षमा धारणा राखिरहेका छन । बैठकमा आज बोल्न बाँकी केन्द्रीय सदस्यले भोलि धारणा राख्नेछन । बैठक अहिले पनि जारी छ ।