काठमाडौ – सुपर टाइफुन रागासा दक्षिण चीनतर्फ नजिकिँदै जाँदा मङ्गलबार कम्तीमा १० वटा सहरमा विद्यालय र व्यवसाय बन्द गर्ने आदेश दिइएको छ ।
यी उपायहरूले लाखौँ मानिस प्रभावित हुनेछन् भने चीनको प्रमुख उत्पादन क्षेत्रका हजारौँ कारखानामा क्रियाकलाप रोकिँदै गएको छ । गुआङ्गडोङ प्रान्तको आपत्कालीन व्यवस्थापन ब्युरोले रागासाले २४ घण्टाभित्र प्रान्तको मध्य र पश्चिमी तटीय क्षेत्रमा अवतरण गर्ने जनाएको छ ।
“प्रमुख क्षेत्रहरूले निर्णायक उपाय अपनाउनुपर्छ, मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ र क्षति कम गर्न सक्दो प्रयास गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ ।
रागासा नजिकिँदै गर्दा गुआङ्गडोङले आँधीका लागि उच्चतम आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । हङकङ मौसम सेवाअनुसार यसले दुई सय ३० किलोमिटर प्रतिघण्टासम्मको हावा बोकेको छ ।
सेन्जेनले चार लाख मानिसलाई खाली गर्न आदेश दिएको छ । अधिकारीहरूले ‘तीव्र हावा, वर्षा, छाल र बाढी’ को चेतावनी दिँदै आकस्मिक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् । बजार र काम दिउँसोदेखि बन्द हुने जनाइएको छ ।
झुहाई, डोङ्गगुआन र फोसानलगायत अन्य प्रमुख सहरमा पनि निलम्बन आदेश जारी गरिएको छ । फोसानको आपत्कालीन मुख्यालयले ‘तीव्र हावा र भारी वर्षाले सहरलाई गम्भीर असर पार्नेछ’ भन्दै चेतावनी दिएको छ ।
रागासा हाल दक्षिण चीन सागर हुँदै अघि बढिरहेको छ । यसअघि फिलिपिन्समा यसले प्रभाव पारेको थियो । त्यहाँ एक व्यक्तिको मृत्यु भएको थियो ।
चिनियाँ राज्य प्रसारक सिसिटिभीले जलमार्गको उत्तरी भाग, ताइवान स्ट्रेटको दक्षिणी भाग, बाशी च्यानल र गुआङ्गडोङ नजिकै सञ्चालन हुने जहाजहरूलाई सुरक्षा सचेतना अपनाउन आग्रह गरेको छ ।
वैज्ञानिकहरू मानवसिर्जित जलवायु परिवर्तनले आँधीबेहरीलाई अझ शक्तिशाली र बारम्बार बनाउँदै गएकोमा एकमत छन् ।