असोज ६, सिरहा – जेनजी प्रदर्शनका क्रममा यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३०० क्वीन्टल चामल र चिनी फिर्ता भएको छ ।
लहान नगरपालिका–१ स्थित सो गोदाममा भदौ २४ गते भएको लुटपाटमा चामल, चिनी, धान, जुटका बोरा र कार्यालय सामग्रीसमेत लुटिएको थियो । कार्यालयका अनुसार, लुटिएको कुल खाद्यान्नमध्ये हालसम्म २९३ क्वीन्टल ४३ किलो चामल र सात क्वीन्टल ८४ किलो चिनी फिर्ता भएको छ ।
खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारले फिर्ता गरिएका खाद्यान्न इलाका प्रशासन कार्यालय, इलाका प्रहरी तथा स्थानीय युवाको सहयोगमा सङ्कलन गरिएको जानकारी दिए । त्यसैगरी स्टिल दराज छ थान, सोफा दुई थान, काठको खाट एक थान, कुर्सी दुई थान, घुम्ने कुर्सी एक थान र त्रिपाल एक थान सामग्री पनि फिर्ता भएको उनले जानकारी दिए ।
चार वटा गोदामबाट लुटिएको सम्पूर्ण सामग्रीमध्ये आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा रहेका थिए, जसको अनुमानित मूल्य करिब १० करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको प्रमुख सुनारले बताए ।