गीतमा ‘जेनजी’ चेतना मुखरित

असोज ४, गण्डकी

‘भ्रष्टाचार हामी सहन्नौँ कहिल्यै
सहन्नौँ घुसखोरी
यो देशको मुहार फेर्नलाई आयौँ
जनताका छोराछोरी।।।’

हालैको ‘जेनजी’ आन्दोलनले उठाएको माग र मुद्दालाई गायक विनम्र खत्रीले गीतमा यसरी मुखरित गरेकाछन । बिहीबार युट्युबमा सार्वजनिक ‘हामी जेनजी पुस्ता’ गीतमा उनले ‘जेनजी’ पुस्ताको मनोभावलाई उजागर गरेका हुन । भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानताको मागसहित सुरु भएको ‘जेनजी’ आन्दोलनको उद्देश्य हिंसा र अराजकता नभएकोतर्फ इङ्कित गर्दै गायक खत्री भन्छन –

‘विध्वंस हाम्रो नीतिमा छैन, न नीति लुट्ने धन
जनताको मर्म बुझ्दछ जसले उसैलाई समर्थन।।।’

गीतमा राष्ट्रियता र देशप्रेम झल्किएको छ । युवाहरूका आकाङ्क्षा र अठोट प्रतिबिम्वित छ । ‘जेनजी’ आन्दोलनका क्रममा सहिद भएकाहरुको बलिदानलाई खेर जान नदिने सङ्कल्प छ । गीतले भन्छ –

‘हजुरबुबा तपाइँले देख्नु’भो नातिको बलिदान
जानलाई खेर दिँदैनौ हामी साथीको बलिदान।।।’

मुलुकमा व्याप्त बेथिति र विसङ्गतिका विरुद्ध सडकमा ओर्लिएका ‘जेनजी’ पुस्ताको आवाजलाई गायक खत्रीले गीतमा माध्यमबाट प्रस्तुत गरेका छन । युवा भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार हुन् र उनीहरु नै भोलिको देश हाँक्ने पिँढी हुन् भन्ने यथार्थलाई गीतले आत्मसात् गरेको छ । गीतमा प्रयुक्त शब्दमा युवाको देशप्रेमको भाव यसरी प्रस्फुटित भएको छ –

‘हिम्मत कहिल्यै हार्दैनौँ हामी न कहिल्यै थाक्नछौँ
माटोको कसम खाएर देशको शिर उच्च राख्नछौँ।।।’

‘सुमधुर क्रियसन’ले प्रस्तुत गरेको उक्त गीतमा शब्द र सङ्गीत गायक विष्णु खत्रीले दिएका छन । उनकै युट्युब च्यानलबाट सार्वजनिक गीतले हालसम्म २१ हजार बढी ‘भ्यूज’ पाएको छ । विमल चिनालले गीतको सङ्गीत संयोजन गर्नुभएको छ । गायक विनम्र खत्रीलाई स्वरमा अमरदीप विसी, सुदीप सिञ्जाली मगर, निर्मला मगर र रुवी सिञ्जाली मगरले साथ दिएका छन ।

Leave a Reply

Your email address will not be published.