विपत्तिमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जलीस्वरुप दीप प्रज्वलन

भदौं ३१, काठमाडौं-  राष्ट्रिय बाल दिवस २०८२ का अवसरमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । काठमाडौँको सिनामङ्गलस्थित बालबालिका शान्ति पार्कमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले दीप प्रज्ज्वलन गरेको हो ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बालअधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सञ्जालका प्रमुखको उपस्थिति रहेको सिजपका अध्यक्ष तिलोत्तम पौडेलले राससलाई जानकारी दिए।

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बालदिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिका कारण यसवर्ष बालदिवसका अन्य कार्यक्रम हुन नसकेको अध्यक्ष पौडेलले उल्लेख गरे ।

उनले बालबालिका र विद्यालय शान्तिक्षेत्र भएकाले भदौ २३ पछि उत्पन्न घटनाक्रमले बालबालिकामा गम्भीर मनोसामाजिक समस्या सिर्जना गरेको धारणा राखे । भ्रामक सूचनाका कारण बालबालिकाहरूमा त्रास फैलिएकाले विद्यालयमा शान्ति, शिक्षा र मनोपरामर्श सेवा अनिवार्य गर्नुपर्नेमा उनले जोड दिए ।

बालअधिकारकर्मी कुमार भट्टराई, प्रह्लाद ढकाल, गोविन्द शाही र बेनुमाया गुरुङले युद्ध, द्वन्द्व, प्रदर्शन र आन्दोलनमा जहिल्यै बालबालिका पीडित र प्रभावित हुने गरेका बताए । उनले जेनजी प्रदर्शनसहित परिवर्तनका लागि भएका आन्दोलनमा योगदान गर्ने सबै बालबालिका र युवाप्रति सम्मान व्यक्त गरे ।

सहभागीले विद्यालय र बालबालिका शान्ति क्षेत्र कायम गर्नुपर्ने, कुनै पनि प्रदर्शन वा आन्दोलन वा हिंसामा बालबालिकाको प्रयोग गर्न नहुने, राजनीतिक दल तथा युवापुस्ताले कानुन, अधिकार र कर्तव्यका विषयमा सचेतना फैलाउनुपर्नेलगायत विषयमा जोड दिएका छन् ।

यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा थुप्रै बालबालिका घाइते भएका थिए भने कम्तीमा चार जना १८ वर्ष मुनिका बालबालिकाले ज्यान गुमाएका सिजपले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । भ्रामक समाचार र डरत्रासका कारण धेरै बालबालिका त्रसित बनेका सरोकार भएकाहरूको भनाइ छ । यसप्रति राज्य गम्भीर हुनुपर्ने र परिवारले बालबालिकालाई समय दिनुपर्ने आवश्यकता सिजपले औँल्याएको छ ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित भएको थियो । नेपालले यसलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको हो । त्यसपछि २०६२र६३ को जनआन्दोलनपछि नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउन थालिएको हो । यसवर्ष भने भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनमा बालबालिका र युवामाथि क्षति पुर्‍याएपछि दिवसलाई पीडादायक एवं खल्लो रूपमा मनाउनुपरेको सहभागीको भनाइ थियो ।

देशका ५० जिल्लामा १०७ सदस्य संस्था रहेको सिजपको स्थापना बालबालिकालाई हिंसा, दुव्र्यवहार र शोषणबाट जोगाउने र बालमैत्री नीतिको पैरवी गर्ने उद्देश्यले भएको सिजपका महासचिव राजु घिमिरेले जानकारी दिए । अभियानले बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published.