भदौं २२, लमजुङ – पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ । यो झरनाले सबैलाई लोभ्याएको छ । झरनाको फेद पुगुपुगु लाग्ने । झरनासँग सेल्फी खिच्नेको बाक्लै उपस्थिति रहन्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात पनि कम हुँदैन ।
डुम्रे–बेँसीसहर सडक छेउ तथा मस्र्याङ्दी नदी नजिकै रहेको बेँसीसहर नगरपालिका–१ दलालस्थित यो झरना पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक यतिबेला तीन सयभन्दा बढी पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनाको आनन्द लिन आउने गरेका स्थानीय सुदीप पन्तले बताए ।
बेँसीसहर नगरपालिका–७ की अस्मिता थापाले भने, ‘सडक छेउमै झरना रहेकाले यसको आनन्द लिन प्रायः कोहीले छुटाउँदैनन् ।’ झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन आनन्दित हुने उनको भनाइ छ । त्यसैगरी अर्का पर्यटक शङ्कर श्रेष्ठले साथीभाइसँग झरनाको फोटो खिच्न र पौडी खेल्न रमाइलो हुने गरेको बताए ।
झरना रहेको स्थल व्यवस्थित भने हुनसकेको छैन । पर्यटक ईश्वर सेढाइँले बाढीपहिरोका कारण सौन्दर्य नै परिवर्तन हुन थालेकाले यसलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘यहाँ पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङको पनि राम्रो सम्भावना छ ’ उनले भने।
झरनालाई व्यवस्थित गर्न बेँसीसहर नगरपालिकाले प्रयास गरिरहेको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । उनले भने ‘झरना रहेको स्थल व्यवस्थित गर्न रु नौ लाख विनियोजन गरेका छौंँ । ’
झरनामा मस्र्याङ्दी नदीको पानी तानेर पानी निरन्तर झार्ने, झरना तल पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउनेलगायत नगरपालिकाका योजना छन् । सो झरनामा क्यानोनिङ तथा ¥याफ्टिङ पनि सञ्चालन गर्ने तयारी छ ।
चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्धार लमजुङ बेँसीसहर रहेकाले यो बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने नगरपालिकाको अपेक्षा छ । गाईखुरे झरना बर्सेनि असारदेखि असोजसम्म झर्ने गर्दछ । बाह्रै महिना झरना झर्ने बनाउन लागिएको नगरप्रमुख अर्यालले बताए ।